सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने कार्यमा राष्ट्रपति र सेनाकाे भूमिकामाथि ओलीकाे शंका !

कार्तिक १७, २०८२ |रुपेश श्रेष्ठ
सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने कार्यमा राष्ट्रपति र सेनाकाे भूमिकामाथि ओलीकाे शंका !

काठमाडौं । तत्कालीन प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन-जी आन्दोलनका क्रममा सुरक्षा निकायबाट पर्याप्त सूचना र सहयोग नपाएको बताउनुभएको छ । 

भदौ २२ गते साँझ भएको बैठकदेखि २३ गते लिएका ब्रिफिङमा समेत सुरक्षा निकायले आन्दोलनका बारेमा आवश्यक सूचना नदिएको भन्दै ओलीले नेपाली सेनाले मानवीय र भौतिक क्षति रोक्न काम नगरेको आरोप लगाउनुभयो । कान्तिपुर टेलिभिजनको कार्यक्रम 'फायरसाइड'मा कुरा गर्दै एमाले अध्यक्ष ओलीले सिंहदरबार र राष्ट्रपति भवनको सुरक्षाको जिम्मेवारी आफ्नै भए पनि नेपाली सेनाले त्यसको सुरक्षा गर्ने तत्परतासमेत नदेखाएकोमा शंका उब्जिएको बताउनुभयो।

भदौ २३ गतेको आन्दोलनमा भएको दमनको निष्पक्ष छानबिन भए त्यसमा सघाउन तयार रहेको बताउँदै ओलीले आफू दोषी देखिए कारबाही भोग्न तयार रहेको जिकिर गर्नुभयो । तर सुशीला कार्की नेतृत्वको सरकारले गठन गरेको आयोग भने नमान्ने उहाँले दोहोर्‍याउनुभयो । 

वर्तमान सरकार असंवैधानिक रहेको बताउँदै आएका ओलीले प्रधानमन्त्री कार्कीले आफूसँग संवाद नै गर्न नचाहेकोमा प्रश्न उठाउनुभयो । सरकार निर्वाचनको वातावरण बनाउन गम्भीर नरहेको उहाँको आरोप छ । प्रधानमन्त्रीमा कार्कीलाई नियुक्त गर्ने कार्यमा नेपाली सेना र राष्ट्रपतिकै भूमिकासमेत शंकारहित नरहेको ओलीको भनाइ छ ।

प्रतिनिधिसभा पुनर्स्थापनाबाहेक अर्को विकल्प नरहेको भन्दै अध्यक्ष ओलीले त्यसका लागि आफू न्यायिक प्रक्रिया र सडक आन्दोलन दुबैको तयारीमा रहेको बताउनुभयो । अध्यक्ष ओलीको पूरा अन्तर्वार्ता कार्यक्रम 'फायरसाइड'मा आज राति ९ बजे हेर्न सकिनेछ । कार्यक्रम कान्तिपुर टेलिभिजनको युट्युब च्यानल र कान्तिपुर टिभी एपमा पनि हेर्न सकिनेछ ।


Image

रुपेश श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका नायब समाचार प्रमुख हुन् ।