अस्तित्व जोगाउन एकजुट हुन लागेका वामपन्थी दलमा जेन-जीका मुद्दा ओझेलमा

कार्तिक १७, २०८२ |अञ्जना लामिछाने
अस्तित्व जोगाउन एकजुट हुन लागेका वामपन्थी दलमा जेन-जीका मुद्दा ओझेलमा

काठमाडौं । जेन-जी विद्रोहबाट प्राप्त उपलब्धि संरक्षण र संस्थागत गर्न लाग्नुपर्ने बेलामा वामपन्थी दलहरूबीच एकताको कसरत सुरू भएको छ । 

नेतृत्व पुस्तान्तरण र नयाँ विचारका साथ अघि बढ्नुपर्ने बेला शक्ति सञ्चयका लागि एकताको प्रयास सुरू भएको हो । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका ८ दलबीच एकताको औपचारिक सहमति भइसकेको छ । १८ बुँदे सहमति गरेका यी दलको मुख्य उद्देश्य अस्तित्व रक्षा र परम्परागत शक्तिलाई निरन्तरता दिनु नै रहेको देखिएको छ । 

पार्टीबीच एकताको सहमति गर्दा जेन-जीले उठाउँदै आएको नेतृत्व पुस्तान्तरणको बहसलाई बेवास्ता गरिएको छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा समाजवादी, जनसमाजवादी पार्टी, नेपाल समाजवादी पार्टीसहितका ८ दलले गर्न लागेको एकता र यसको दिगोपनामा सुरूदेखि नै प्रश्न उठेको छ । 

यी दलले एकताका लागि १८ बुँदे सहमति गरेका छन् । विगतमा कहिले एउटै दल न कहिले एउटै मोर्चामा बसेर पनि सैद्धान्तिक मतभेद देखिएर विभाजित बनेका नेताहरू फेरि एउटै कित्तामा आइपुगेका हुन् । एकताको घोषणा गरिए पनि नेतृत्व पुरानै छ । जेन-जीले उठाउँदै आएको नेतृत्व पुस्तान्तरणको मुद्दालाई यी दलले अझै स्वीकार गरेका छैनन् । बरू संकटमा पर्न लागेको अस्तित्व जोगाउन र शक्ति आर्जनका लागि यी दल एकजुट हुन खोजेको देखिन्छ ।

वामपन्थी ८ दलले गरेको एकता घोषणा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन लक्षित देखिन्छ । विघटित प्रतिनिधिसभामा ३२ सिट भएको नेकपा माओवादी केन्द्र र १० सिट भएको नेकपा एकीकृत समाजवादी आगामी प्रतिनिधि सभाको निर्वाचनमा रक्षात्मक अवस्थामा पुग्ने आकलनका साथ एकतामा हतारिएका हुन् । 

विगतका चुनावमा कहिले कांग्रेस र कहिले एमालेसँग गठबन्धन गरेर आएको माओवादी केन्द्र अब अरू वामपन्थी दललाई मिलाएर आगामी चुनावमा होमिने मनस्थितिमा छ । विघटित प्रतिनिधिसभामा राष्ट्रिय दलसमेत बन्न नसकेको एकीकृत समाजवादी पनि आगामी चुनावमा आफ्नो अस्तित्व नै संकटमा पर्ने देखेपछि एकताका लागि हतारिएको हो । 

एकता प्रक्रियामा सहभागी भएका अरू कतिपय दलले निकै कम मत ल्याएका थिए भने कुनै जनताबाट अनुमोदन हुन निर्वाचन प्रक्रियामासम्म सहभागी नभएकाहरू छन् । अस्तित्व नै संकटमा पर्ने देखिएपछि उनीहरू एकता प्रक्रियामा आएको देखिएको छ ।

जेन-जी विद्रोह हुनुको मुख्य कारण भ्रष्टाचार, कुशासन र नातावाद नै हुन् । युवा पुस्ताको आकांक्षाको कुनै प्रवाह नगरी अघि बढेका दलहरूकै कारण जेन-जीको विद्रोह भएको हो । तर अहिले ८ वटा वामपन्थी दलहरू मिल्दा पनि भ्रष्टाचार र कुशासनविरूद्ध कुनै नयाँ नीति लिन सकेका छैनन् । बरू पुरानै नेताहरूको थुप्रो मात्र लागेको छ । वर्षौंदेखि सत्ता र शक्तिमा रहेर पनि देश र जनताका लागि खासै सम्झनालायक काम गर्न नसकेका नेताहरूको भीड जम्मा हुँदैमा युवाको परिवर्तनको आकांक्षा सम्बोधन गर्न सक्ने आधार भने देखिँदैन ।

त्यसो त अहिले एकताका लागि सहमत दलहरूभित्रै पनि एकमत छैन । माओवादी केन्द्रमा जनार्दन शर्मालगायतका नेताहरूले एकताको विरोध गरिसकेका छन् । एकीकृत समाजवादी त तीन कित्तामा विभाजित भइसकेको छ । अरू दलहरूमा पनि त्यस्तै अवस्था छ । एकता गर्दा आफ्नै दल मिलाउन नसक्ने नेतृत्व फेरि एउटै मोर्चाबन्दीमा लाग्दा त्यहाँ झन् भाँडभैलो नहोला बन्न सकिने अवस्था छैन ।

जेन-जी विद्रोहले धक्का दिए पनि अहिले वामपन्थी दलहरूबीचको एकताले रूपान्तरण हुने विश्वासिलो आधार छैन । पार्टीभित्रै पुनर्संरचना गरेर नयाा कार्यदिशा अंगाल्न छाडेर निश्चित नेताको स्वार्थका लागि एकता गरिएको हो भने त्यो लामो समय टिक्न सक्दैन । 

दलहरूभित्र देखिएको वैचारिक समस्या निमिट्यान्न नबनाइ नेताहरुको थुप्रो मात्र जम्मा गर्ने तर पुरानै शैली र पद्धति अवलम्बन गर्ने हो भने जतिसुकै दलबीचको एकता भए पनि त्यसले तात्विक फरक पार्ने छैन ।


Image

अञ्जना लामिछाने

लामिछाने कान्तिपुर टेलिभिजनकी संवाददाता हुन् ।