काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलगायत पाँच जनाको राहदानी रोक्काका लागि गरेको सिफारिसप्रति आपत्ति जनाएको छ।
यस्ता निर्णयले उच्चस्तरीय आयोगकै विश्वसनीयतामाथि गम्भीर प्रश्न खडा गरेको एमालेको टिप्पणी छ । आइतबार भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकले उच्चस्तरीय न्यायिक आयोगले गरेको निर्णयप्रति गम्भीर आपत्ति जनाएको हो ।
बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले राहदानी रोक्काका लागि गरिएको सिफारिसबारे आएका समाचारप्रति गम्भीर आपत्ति रहेको बताउनुभयो । यसैगरी आफ्नो क्षेत्राधिकारभित्र पर्ने भन्दै भदौ २४ को घटनाका दोषीलाई कुनै कारबाही अघि नबढाउनु भनेर आयोगले नेपाल प्रहरीलाई दिएको निर्देशनप्रति पनि एमालेले आपत्ति जनाएको छ ।
भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा दिउँसो १ बजेदेखि बसेको बैठकमा जेन-जी आन्दोलनपछिको अवस्था, पार्टीमा परेको प्रभाव र आगामी रणनीतिबारे छलफल भएको हो । एमालेको सचिवालय बैठक जेन-जी आन्दोलनपछिको पहिलो हो ।