काठमाडौं । सत्तारूढ नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई सर्वेसर्वा बनाउने गरी विधान संशोधन गरेको छ ।
फरक मतलाई निषेध गरिएको विधान महाधिवेशनले एमालेले ७० वर्षे उमेर हद र दुई कार्यकालको सीमा हटाउँदै अध्यक्ष ओली तेस्रो कार्यकाल पनि नेतृत्व लिने बाटो खोलेको हो ।
ललितपुरको गोदावरीमा तीन दिनसम्म चलेको महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीलाई नै बलियो बनाउने गरी तीनवटै प्रतिवेदनहरू पारित गरेको छ । पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टीमा फर्कन दिनुपर्ने फरक मतलाई भने प्रस्तावका रूपमा राख्न समेत दिइएन ।
विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । समूहगत छलफलमा पनि अध्यक्ष पक्षधरको एकाधिकार जस्तै थियो ।
एमालेले पार्टी कमिटीहरूको संख्या र सदस्यता वर्गिकरण समायोजन गरेको छ । सचिवालय खारेज गर्दै साधारण र संगठित गरी दुई किसिमका सदस्य बनाउने प्रस्ताव पारित भएको छ ।
कमिटीको संख्या क्रमस केन्द्रीय कमिटी २५१, पोलिटब्युरो ९९ र स्थायी कमिटी १५ सदस्यीय बनाउने गरी विधानमा व्यवस्था गरिएको छ ।