पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन नहुने व्यवस्था विधानमा नै गर्न पार्टी नेतृत्वलाई एमाले नेताहरूको सुझाव

भाद्र २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन नहुने व्यवस्था विधानमा नै गर्न पार्टी नेतृत्वलाई एमाले नेताहरूको सुझाव

काठमाडौं । नेकपा (एमाले)का नेताहरूले पार्टीको विधानमा नै पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपतिलाई राजनीतिमा आउन नहुने स्पष्ट व्यवस्था गर्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन ।

ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनमा अन्तिम दिन आइतबार समूहगत छलफलको निष्कर्ष सुनाउँदै उनीहरूले सो कुरामा जोड दिएका हुन् । बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेल, मधेस प्रदेशका अध्यक्ष चण्डेश्वर मण्डललगायतका अधिकांश नेताहरूले आफ्नो समूहको छलफलको निष्कर्ष सुनाउँदै पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति र संवैधानिक अंगका प्रमुख भइसकेकाहरूलाई राजनीतिमा आउन नदिनका लागि पार्टी नेतृत्वलाई सुझाव दिएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । 

त्यसैगरी उनीहरूले किसानलाई अनुदान बढाउन, सहिद परिवारलाई राजनीतिक क्षेत्रमा प्रतिनिधित्व गराउनमा जोड दिन, पार्टीमा मूल्यांकन गर्ने वैज्ञानिक परिपाटीको विकास गर्नुपर्ने धारणा पनि राखेको उहाँले बताउनु भयो ।

महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नु भएको राजनीतिक प्रस्ताव, उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गर्नुभएको विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले प्रस्तुत गर्नु भएको संगठनात्मक प्रस्तावमाथि छलफल गर्न बनाएको १० वटा समूहका नेताहरूले आफ्नो सुझाव प्रस्तुत गरिसकेका छन । 

अध्यक्ष ओलीले सदस्यहरूले राखेका जिज्ञासाको जवाफ दिँदै सो महाधिवेशन समापन हुने पनि प्रचार विभाग प्रमुख गौतमले बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.