काठमाडौं । सत्तारुढ नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । एमाले प्रचार विभागका अनुसार प्रमुख सचिवालय बैठक दिउँसो ३ बजे पार्टी कार्यालय च्यासलमा बस्नेछ ।
आजको बैठकमा एमालेको दोस्रो विधान महाधिवेशन प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुने प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । उहाँले बैठकमा तीन वटै प्रतिवेदन छलफल गरेर पारित गरेपछि विधान महाधिवेशनमा प्रस्तुत गरिने बताउनुभयो ।
महाधिवेशनमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक, उपाध्यक्ष एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रतिवेदन र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन पेस गर्नुहुनेछ ।
एमालेको दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा यही भोलिदेखि हुँदैछ । एमाले महाधिवेशनमा दुई हजार ३३ जना प्रतिनिधि र ३ सय १७ जना अन्य गरीसहित दुई हजार ३ सय ५० जना सहभागी हुने प्रचार विभागले जनाएको छ ।