काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीका केही पदाधिकारीहरुले वडा तहमा समेत चुनाव जिताउने हैसियत नराख्ने बताउनुभएको छ ।
सोमबार काठमाडौंमा आयोजित आनन्दप्रसाद पोखरेलद्वारा लिखित पुस्तक कम्युनिष्ट पार्टी निर्माणका आधारको विमोचन गर्दै उहाँले पार्टीका केही पदाधिकारीहरुले कुरा ठूलाठूला गर्ने गरेको भएपनि वडा तहको समेत चुनाव जिताउन हैसियत राख्न नसक्ने अवस्था रहेको टिप्पणी गर्नुभएको हो ।
उपमहासचिव ज्ञवालीले पार्टीका धेरै नेता, कार्यकर्ता धागो नभएको चंगा जस्तो माथिमात्रै रहने गरेको तर जनाधार नभएको पनि औल्याउनु भयो । पार्टीका कतिपय पदाधिकारी, केन्द्रिय सदस्यहरुले कुरा ठूला गरेपनि जनाधार नहुँदा चुनाव जिताउने हैसियत गुमाएको उहाँको निष्कर्ष थियो ।
उपमहासचिव ज्ञवालीले पञ्चायत कालमा समेत जनमत बुझ्न राजा महेन्द्रले गाउँ फर्क अभियान चलाएको उल्लेख गर्दै पार्टीका नेता, कार्यकर्ताहरुले पनि जनाधार निर्माणमा विशेष ख्याल राख्नुपर्ने बताउनु भयो ।
उपमहासचिव ज्ञवालीले नीति, विधि र व्यवहार सबै हिसाबले जनतासँग एकाकार भएर मात्रै पार्टीलाई अघि बढाउन सकिने भएकाले सिंगो पार्टी पंक्ति सोहीअनुसार परिचालन हुन आवश्यक रहेको बताउनु भयो ।