काठमाडौं । नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाउने भएको छ ।
सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा मंगलबार बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठकले राज्य व्यवस्था समितिको सभापतिमा न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
समितिका सभापतिबाट रामहरि खतिवडाले गत साउन २८ गते राजीनामा दिएपछि पद रिक्त छ । सभामुख देवराज घिमिरेले भोलिसम्म निर्वाचन गर्ने मिति सार्वजनिक गरेपछि कांग्रेसले उम्मेदवार टुंगो लगाएको हो ।
निजामती सेवा विधेयकमा समावेश गरिएको कुलिङ अफ पिरियडको गडबडीबारे छानबिन गर्न गठित जीवन परियार नेतृत्वको समितिले खतिवडा र समितिका सचिव सुरजकुमार दुरालाईमुख्य नैतिक जिम्मेवार ठहराएपछि खतिवडाले राजीनामा दिनुभएको थियो ।
उहाँको ठाउँमा कांग्रेसले न्यौपानेलाई पठाउने भएको हो । सभापति चयन गर्ने समितिमा भोलि निर्वाचन हुने छ ।