काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता वामदेव गौतमले पार्टीका नेताहरू काठमाडौं केन्द्रीत भएको भन्दै आलोचना गर्नुभएको छ ।
साेमबार काठमाडौंमा आयोजित ‘आजको सन्दर्भमा नेपाली विशेषताको समाजवाद’ विषयक विचार गोष्ठी कार्यक्रममा बोल्दै वरिष्ठ नेता गौतमले यस्तो बताउनु भएको हो ।
पार्टीका सबै शीर्ष नेता राजधानी उपत्यकामा मात्र रहने प्रवृत्तिका कारण पार्टी संगठनलाई कमजोर बनाएको उहाँको भनाइ छ । उहाँले पार्टीका सबै सदस्यहरूलाई कुनै न कुनै जिम्मेवारी तोक्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले पार्टीमा बसेर पार्टीको नीति र सिद्धान्त पालना नगरेका नेताहरूलाई ‘नक्कली कम्युनिष्ट’को संज्ञा दिनुभयो । उहाँले सदस्यले समाजवाद बुझ्ने, समाजवाद निर्माणका लागि आजको परिस्थितिमा आवश्यक कार्य गर्ने र जनतासम्म पुग्ने जिम्मेवारी लिनुपर्ने आवश्यकता औंल्याउनु भयो ।
पार्टीका शीर्ष नेताहरू जनतामाझ नगएसम्म कार्यकर्तामा उत्साह पैदा नहुने उहाँको भनाइ छ । आफूमा पार्टीमा आबद्ध भएको दुई महिना पुग्दा समेत पार्टीले जिम्मेवारी नदिएको भन्दै उहाँले गुनासो समेत गर्नुभयो ।
कम्युनिष्ट पार्टीहरू सिद्धान्तबिना चल्न नसक्ने उल्लेख गर्दै उहाँले अन्तरपार्टी संघर्ष आवश्यक रहेको बताउनु भयो ।