एमसीसी सम्झौताले मुलुकलाई विभाजित गर्यो : पूर्वप्रधानमन्त्री खनाल

भाद्र ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
एमसीसी सम्झौताले मुलुकलाई विभाजित गर्यो : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताले मुलुकलाई विभाजित गर्ने काम गरेको टिप्पणी गर्नुभएको छ ।

काष्ठमण्डप संवादसमापन समारोहलाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै उहाँले मुलुकभित्र राष्ट्रियसहमति सुनिश्चित नगरीकन गरिएको एमसीसी सम्झौताले मुलुकलाई विभाजित गरेको टिप्पणी गर्नुभएको हो । 

कुनैपनि अन्तरराष्ट्रिय सन्धि सम्झौता गर्दा संसद्लाई पूर्वजानकारी दिनुपर्ने व्यवस्था संविधानमा नै उल्लेख गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले अन्तरराष्ट्रिय सन्धि तथा सम्झौताहरू सत्ताधारीहरूको लक्ष्य र चलखेलको विषय बन्नदिन नहुनेमा जोड दिनुभयो । 

उहाँले एमसीसी सहयोग परियोजना संघीय संसद्‌बाट लज्जाजनक विषयले पास गरिएको उल्लेख गर्दै भविष्यमा यस्तो हुन नदिने कुरामा सबै सजग हुनुपर्ने बताउनु भयो । 

खनालले एमसीसीलाई गृहकार्य, यथोचित छलफल र सहमतिबिना अनुमोदन गरिएको उल्लेख गर्दै यसलाई संस्था वा मुलुकको हकमा पनि लागु गर्न सकिने नजिरको रूपमा लिन नहुनेमा जोड दिनुभयो ।

एमसीसी जस्ता सम्झौताहरू मुलुकको घातक हुने उल्लेख गर्दै उहाँले यस्ता सम्झौता हुनबाट मुलुकलाई हर-ढंगले जोगाउनुपर्ने तर्क गर्नुभयो । संवादका निष्कर्ष सार्वजनिक गर्दै उहाँले कुनै पनि अन्तर्राष्ट्रिय सम्झौताहरू दबाब र धम्कीमा नभई बराबरीका आधारमा गर्नुपर्ने बताउनु भयो । 

उहाँले परियोजना कार्यान्वयनमा बजेट पारदर्शी हुनुपर्ने तथा एमसीसीलाई स्वायत्त अधिकार दिन नहुने पनि बताउनु भयो । पूर्व प्रधानमन्त्रीले भविष्यमा भूराजनीतिक सन्तुलन, छिमेकी र मित्र राष्ट्रहरूसँगको सम्बन्धमा असरहुने गरी सम्झौता गर्न नहुने बताउनु भयो । 

उहाँले एमसीसी परियोेजना अमेरिकी सुरक्षा रणनीतिको अङ्ग भएकाले नेपालको लागि हानिकारक हुनसक्ने चेतावनी समेत दिनुभयो । एमसीसी कार्यान्वयनका क्रममा विदेशी कामदारको निगरानी र प्रवेशाज्ञामा स्पष्टता सुनिश्चित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.