काठमाडौं । नेपाली कांग्रेसभित्रको विवादका कारण बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले मंगलबार प्रदेश सभामा लिने भनिएको विश्वासको मत अन्योलमा परेको छ ।
मुख्यमन्त्री बानियाँले अहिले ४ बजे प्रदेश सभामा विश्वासको मत लिने कार्यक्रम थियो । तर, निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा सहित उहाँ पक्षका १४ प्रदेश सभा सदस्यहरु काठमाडौंमै छन् ।
जसले गर्दा बानियाँले लिने विश्वासको मत अन्योलमा परेको हो । लामा पक्षधरहरू काठमाडौंको बानेश्वरस्थित एक होटलमा छलफलमा रहे पनि कुनै निष्कर्षमा पुगिसकेका छैनन् । बानियाँले आफ्नो पक्षका ३ सांसदहरूलाई मन्त्री नियुक्त गरेर सपथ नदिलाएसम्म विश्वासको मत नदिने अडानमा लामा पक्षहरू छन् ।
साउन २० गते नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बानियाँ आफ्नै पार्टीका नेता बहादुरसिंह लामालाई हटाएर मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । त्यहीँ दिन सपथ लिनुभएका बानियाँले आज प्रदेशसभामा विश्वासको मत लिने कार्यक्रम छ ।
त्यसका लागि प्रदेशसभाको बैठक ४ बजेका लागि बोलाइएको छ । बानियाँलाई विश्वासको मत दिन सत्ता साझेदार दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले ह्वीप जारी गरेका छन् ।