काठमाडौं । स्थापनाकालदेखि नै पटक-पटक विभाजन र टुटफुटको श्रृंखला बेहोर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीमा पुन: दुई लाइन संघर्ष चर्किएको छ ।
अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशमशेर राणाबीचको मतभेद गहिरिँदै जाँदा गुटगत गतिविधि बढेका छन् । नेतृत्वले पदाधिकारीको जिम्मेवारी खोस्ने, निर्वाचन आयोग गुहार्नेदेखि समानान्तर गतिविधिसम्म सञ्चालन भइरहेका छन् । पार्टी महाधिवेशन नजिकिँदै जाँदा दुवै पक्षले छुट्टा-छुट्टै भेला र बैठक गर्दै रणनीति तय गर्न थालेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीमा अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशमशेर राणाबीचको मतभेद गहिरिँदै जाँदा अन्तरसंघर्ष चर्किएको छ । विशेषगरी अध्यक्ष लिङ्देनले एकल निर्णय र मनोमानी व्यवहार प्रस्तुत गरेको भन्दै राणा समूह अहिले विरोधमा उत्रिएको छ ।
विवादको बीउ रोपिएको थियो-महामन्त्री राणालाई संगठन विभाग प्रमुख पदबाट बर्खास्तीबाट, जसले लिङदेनलाई २०७८ को महाधिवेशनमा अध्यक्षमा जिताउन निर्णायक भूमिका निर्वाह गर्नुभएको थियो ।
लिङदेनको कारबाही त्यतिमा मात्र सीमित भएन । उपाध्यक्षबाट मुकुन्दश्याम गिरीलाई बर्खास्त, प्रवक्ता सगुनसुन्दर लावतीलाई प्रवक्ता पदवाट निलम्वन, नवराज सुवेदीलाई पार्टी अनुशासन समिति संयोजकको जिम्मेवारीबाट मुक्त र केही केन्द्रीय सदस्यलाई बर्खास्त गरेपछि विवाद झन् चरम अवस्थामा पुग्यो । लिङ्देनको कारबाही भोगेको यो समूह निर्वाचन आयोगसम्म पुगेको छ भने लिङ्देनविरूद्ध पार्टीमा अन्तर्संघर्ष चलाउँदै जाने रणनीति बनाएको छ ।
असन्तुष्ट पक्षले छलफल र भेलालाई तिव्रता दिँदै रणनीति निर्माण जुटेपछि संस्थापन पक्षसमेत भेलामा जुटेको छ । संस्थापन पक्षले गत बिहीबार बत्तीसपुतलीस्थित एक होटेलमा बैठक डाकेको थियो, जहाँ अध्यक्षनिकट नेताहरु मात्रै थिए ।
बैठकले संस्थापनविरूद्ध अभिव्यक्ति दिँदै आएका नेताहरूविरूद्ध कठोर हुने निर्णय गरेको छ भने सामाजिक सञ्जाल र सञ्चारमाध्यममा लिखित वा मौखिकरूपमा व्यक्तिगत वा गुटगत अभिव्यक्ति नदिन निर्देशन जारी गरेको छ । नेतृत्वको आलोचना गर्ने नेताहरूविरूद्ध राप्रपाको संस्थापन पक्ष झन् आक्रामक हुने देखिएको छ ।
अध्यक्ष लिङ्देनविरूद्ध प्रकाशचन्द्र लोहनी, वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, उपाध्यक्ष मुकुन्दश्याम गिरी महामन्त्रीद्वय धवलशम्सेर राणा, कुन्तीकुमारी शाहीलगायत नेताहरु एकतावद्ध भएका छन ।
२०७८ को महाधिवेशनमा लिङ्देनलाई साथ दिएका नेताहरू अहिले पूरै विपक्षमा उत्रिएका छन् । गत माघमा भएको केन्द्रीय समिति बैठकमा अध्यक्षको कार्यशैलीको आलोचनासहित राजनीतिक दस्तावेज पेस गरेपछि लिङ्देन राणासँग कठोर बन्दै गएका थिए ।
त्यसमाथि राजससंस्था पुनर्स्थापना आन्दोलन समितिको संयोजकमा नवराज सुवेदी तोकिएपछि लिङ्देन झनै आक्रोसित बनेका थिए । अहिले पनि राप्रपामा विवाद साम्य हुने अवस्था आएको छैन ।