माओवादीमा नेतृत्वविरुद्ध बोल्नेहरुको मुख थुनियो !

श्रावण १९, २०८२ |दशरथ राई
माओवादीमा नेतृत्वविरुद्ध बोल्नेहरुको मुख थुनियो !

काठमाडौं । नेतृत्वविरुद्ध बोल्नेहरुलाई चुप लाग्न चेतावनी दिँदै र अध्यक्ष पुष्पकमल दाहालको गुनगान गर्दै नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सकिएको छ । चार दिनसम्म बसेको स्थायी समितिको बैठकमा दाहाललाई चुनौती दिने हिम्मत कुनै नेताले गरेनन् । बरु बैठक अघि सार्वजनिक रुपमा नेतृत्वको आलोचना गर्नेहरु नै आगामी वैशाखसम्म हुने महाधिवेशनमा पनि दाहाललाई नै नेतृत्व सुम्पने पक्षमा उभिए ।

उपमहासचिव जनार्दन शर्माले पार्टीमा उठाउँदै आएको मुद्दालाई नेकपा माओवादी केन्द्रले जथाभावीको संज्ञा दिएको छ ।

चार दिनसम्म चलेको माओवादी केन्द्रको स्थायी समिति बैठकले सार्वजनिकरुपमा अध्यक्ष पुष्पकमल दाहालको आलोचना गर्ने उपमहासचिव जनार्दन शर्मालाई जथाभावी नबोल्न चेतावनी दिएको हो । यसबाट माओवादी केन्द्रमा पनि फरक मतलाई निषेध गर्ने प्रवृत्ति देखिएको छ ।

बैठकको सुरुकै दिन दाहालले कुनै पनि नेताले बर्जुवा अभिव्यक्ति नदिन चेतावनी दिएपछि अधिकांश नेताले उहाँकै गुनगान गाए । नेतृत्व र पार्टीविरुद्ध बोल्नेले माफी माग्नुपर्नेसम्मका कुरा बैठकमा उठे । शर्माले विगतदेखिनै नेतृत्वमाथि प्रश्न उठाउँदै आउनुभएको थियो र यस पटक पनि असन्तुष्टी राख्नुभयो । नेतृत्वविरुद्ध सार्वजनिकरुपमा टिप्पणी गर्दै हिँडेको भन्दै अध्यक्ष दाहालले आत्मालोचना गर्न दिएको निर्देशन अस्वीकार गरे पनि उपमहासचिव शर्माले बैठकका निर्णयमा हस्ताक्षर गर्नुभएको छ । उहाँले आगामी दिनमा सच्चिएर अघि बढ्ने सहमति भएको बताउनुभयो ।

बैठकले पार्टीभित्र देखिएका असमझदारी छलफलबाटै टुंगो लगाउने निर्णय गर्ने नेतृत्वविरुद्ध अभिव्यक्ति नदिने निर्णय गरे पनि दाहाल पूर्ण सन्तुष्ट भने देखिनुभएको छैन । दाहालले बैठकमा पार्टीभित्रको अन्तरविवादलाई लिएर मज्जाले बहस भएको र आगामी दिनमा समाधान गर्ने गरी पार्टी कमिटीहरुमा छलफल गरिने बताउनुभयो । दाहालको यो प्रतिक्रियाले पनि माओवादी केन्द्रभित्र अझै विवाद छ भन्ने स्पष्ट बुझ्न सकिन्छ ।

त्यसो त माओवादी केन्द्रभित्र विगतदेखि नै नेतृत्वको कार्यशैलीलाई लिएर पटकपटक प्रश्न उठ्ने गरेका थिए । तर कुनै पनि बैठकले त्यसको समाधान हुन सकेको थिएन । यस पटक पनि सबै विषयको सुनुवाई नभएको कतिपय नेताहरुको भनाइ छ ।

माओवादी केन्द्र टुटफुटको शृङ्खलाबाट गुज्रिँदै आएको छ । तर झन्डै चार दशकदेखि दाहालले नै पार्टीको नेतृत्व गरिरहनुभएको छ । दाहाललाई चुनौती दिनेहरु क्रमश बाहिरिँदै गएका छन् । दाहालविनाको माओवादी केन्द्रको राजनीति नै शून्य हुन्छ भने झैं अधिकांश नेता उहाँकै वरिपरि घुमेको देखिन्छ ।


Image

दशरथ राई

राई कान्तिपुर टेलिभिजनको समाचार विभागमा कार्यरत छन् ।