काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन कसरत थालेका छन् । त्यसका लागि दुबै दलले सांसद्हरुको हस्ताक्षर संकलन समेत गरेका छन् ।
पदीय आचरणअनुसार काम नगरेको भन्दै दुई तिहाइ बहुमत जुटाएर उपसभामुख रानालाई पदबाट हटाउन सत्तारूढ दल कांग्रेस र एमालेले मंगलबार हस्ताक्षर संकलन गरेका हुन्।
त्यसका लागि सांसदहरूलाई सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सांसदहरूलाई बोलाइएको थियो । सांसदहरूको हस्ताक्षर दुबै दलका प्रमुख सचेतकहरुलाई बुझाइएको छ । तर नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले उपसभामुख रानामाथि उठेको विषय संसद्को छलफल प्रकृयामै रहेको भन्दै हस्ताक्षर संकलन भने हटाउनका लागि नगरिएको दाबी गर्नुभयो ।
संवैधानिक परिषद्मा सत्ता पक्ष अल्पमतमा परेपछि कांग्रेस र एमालेले उपसभामुख रानालाई हटाउने प्रयास फेरि अघि बढाएका हुन् । कांग्रेस ससदीय दलको कार्यालयमा नेपाली कांग्रेस र नेकपा एमालेका प्रमुख सचेतकहरूबीच छलफल भएको थियो ।
बैठकमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि सहभागी हुनुभयो । आजै बिहान बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठकमा पनि संवैधानिक परिषद्को बैठक बस्न नसक्दा समस्या भएकोले रानालाई हटाउनुपर्ने विषय उठेको श्रोतले जनाएको छ ।
कांग्रेस र एमालेका नेताहरूबीच हिजो साँझ बालुवाटारमा बैठकमा उपसभामुख हटाउने विषयमा छलफल भएको थियो । उपसभामुख रानाले अनधिकृत व्यक्तिलाई अमेरिका पठाउन दूतावासलाई पत्राचार गरेको र उक्त विषय मानव बेचविखनसँग जोडिएको सत्ता पक्षको दाबी छ ।