चार दशकदेखि नेतृत्वमा रहेका दाहालको विकल्पै नखोज्ने गरी माओवादी केन्द्रमा छलफल

आलोचना गर्नेहरूलाई कमजोर बनाउने र नेतृत्वमै रहने दाहालको रणनीति
श्रावण १७, २०८२ |दशरथ राई
चार दशकदेखि नेतृत्वमा रहेका दाहालको विकल्पै नखोज्ने गरी माओवादी केन्द्रमा छलफल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले झन्डै चार दशकदेखि पार्टीको नेतृत्व गर्दै आउनुभएको छ । 

अझै पनि माओवादीका नेताहरूले दाहालको विकल्प खोज्न सकेका छैनन् । बरू उहाँलाई नै थप बलियो बनाउनेमा पार्टीभित्र बहस सुरू भएको छ । आगामी वैशाखसम्म महाधिवेशन गर्ने तयारी माओवादी केन्द्रको छ । 

अध्यक्ष दाहालले अब खुला प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्ने बताइरहँदा नेताहरूले भने विकल्प तयार नभएको बताएका छन् । दाहालको कार्यशैलीलाई लिएर केही आलोचना भए पनि अन्तरद्वन्द्व समाधान गरेर उहाँलाई नै निर्विकल्प बनाउने कसरत पुन: सुरू भएको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले झन्डै ३८ वर्षदेखि एकछत्र नेतृत्व गरिरहनुभएको छ । टुटफुटको शृङ्खलाबाट अघि बढ्दै आएको माओवादी केन्द्र अहिले फेरि अन्तरसंघर्षमा रूमलिएको छ । 

दाहालले पार्टीमा एकलौटी गरेको र अरूका कुरा सुन्दै नसुनेको मात्र होइन, आलोचकलाई अघि बढ्नै नदिने रणनीति अपनाएको आरोप उपमहासचिव जनार्दन शर्माले लगाउनुभएको छ । तर दाहालले शर्माप्रति लक्षित गर्दै बर्जुवा अभिव्यक्ति नदिन चेतावनी दिएपछि अरू नेता चुपचाप भएका छन् ।

त्यसो त माओवादी केन्द्रभित्र दाहाललाई चुनौती दिन खोज्नेहरू बाहिरिँदै गएका छन् । बाबुराम भट्टराई, मोहन बैद्य, नेत्रविक्रम चन्दलगायतका कयौं नेता दाहालका सामु टिक्न नसकेर अलग हुनुपरेको थियो । 

माओवादी केन्द्रबाट धेरै नेता बाहिरिइसकेको अवस्थामा दाहालको कार्यशैलीलाई अहिले उपमहासचिव शर्माले चुनौती दिन खोज्नुभएको हो । नेतृत्व चयन भने खुल्ला प्रतिस्पर्धाबाटै हुने नेताहरुको जिकीर छ ।

झन्डै एक वर्षपछि बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकमा पार्टीभित्र देखिएका केही अन्तरविरोधमा बहस भइरहेको छ । अधिकांश नेताहरूले अन्तरविरोध हुने गतिविधि बन्द गर्नुपर्ने सुझाव दिएका छन् । यसले अध्यक्ष दाहालको आलोचना गर्ने उपमहासचिव शर्मा कमजोर देखिनुभएको छ । स्थायी समिति बैठकमा पनि नेताहरूले दाहालको गुनगान गाइरहेका छन् ।

माओवादी केन्द्रले पार्टी महाधिवेशन पनि आगामी वैशाखसम्म गर्ने तयारी गरेको छ । जुन महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने छ । सर्वसम्मत नेतृत्व चयन गर्दै आएको माओवादीले अब प्रतिस्पर्धा गराउने बताउँदै आएको छ । तर अध्यक्ष दाहालले अहिलेदेखि नै पार्टीभित्रका आफ्ना आलोचकहरूलाई पाखा लगाउने र अन्य कम्युनिस्ट घटकहरूसँग एकता गरेर आफू थप बलियो बन्ने रणनीति बनाइरहनुभएको छ । 

त्यसका लागि उहाँले कम्युनिस्ट एकताको मुद्दा उठाइरहनुभएको छ। उपमहासचिव शर्मासहितका केही नेता दाहालको विकल्प खोज्नुपर्ने पक्षमा उभिए पनि त्यो आवाज मलिन भएको छ ।


Image

दशरथ राई

राई कान्तिपुर टेलिभिजनको समाचार विभागमा कार्यरत छन् ।