आमरण अनसन बसेका दिक्तेलका नगरप्रमुख भट्टराई अस्पताल भर्ना

श्रावण १५, २०८२ |उत्तम चौलागाईं
आमरण अनसन बसेका दिक्तेलका नगरप्रमुख भट्टराई अस्पताल भर्ना

खोटाङ । काठमाडौंको माइतीघरमा आमरण अनसनमा बसेका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई अस्पताल भर्ना हुनुभएको छ ।

तीन दिनसम्म सत्याग्रह बस्दा माग पूरा नभएपछि बुधबारदेखि आमरण अनसनमा बसेका भट्टराईलाई बुधबार राति नै अस्पताल भर्ना गरिएको हो । भट्टराईको राति स्वास्थ्य बिग्रिएपछि वीर अस्पताल भर्ना गरिएको उहाँका स्वकीय चिरञ्जीवी खतिवडाले जानकारी दिनुभयो ।

बाँसलगायत विभिन्न सात बुँदे माग राख्दै अनसनरत भट्टराईको आकस्मिक कक्षमा उपचार भइरहेको छ।

बाँसलाई बिल्डिङ कोडमा समावेश गरी सरकारी मूल्यांकन गर्न नीति बनाई स्थानीय सामग्री प्रयोग गर्ने गर्नुपर्ने, बाँसको सदुपयोगबाट स्थानीय स्तरमा साना घरेलु उद्योग सञ्चालन गरी विदेश पलायन हुने युवाहरूलाई स्वरोजगार बनाई आयआर्जनको गर्न सकिने भएकाले यसका लागि सरकारले नीति निर्माण र कार्यान्वयन गर्नुपर्नेलगायतका माग राख्दै भट्टराई माइतीघरमा अनसन बस्नु भएको थियो । 


Image

उत्तम चौलागाईं

चौलागाईं कान्तिपुर टेलिभिजनका खोटाङ संवाददाता हुन् ।