काठमाडौं । मुख्य राजनीतिक दलहरूभित्र देखिएको किचलो हेर्दा देश संक्रमणकालमा जान लागेको हो कि जस्तो भान हुन्छ । किचलो पनि सामान्य हैन दुई पक्षको विवादमा एक पक्षले पार्टी नै विभाजन गर्नेसम्मको कुरा गर्छन् ।
राजनीतिक स्थायित्व कायम गर्ने, संविधान संशोधन गर्ने र देशलाई समृद्धि बनाउने घोषणा गरेर सरकार गठन गरेका नेपाली कांग्रेस र नेकपा एमाले मात्र होइन, विपक्षी दलहरू पनि अहिले आन्तरिक विवादमा छन् । कतिपय अवस्थामा यस्ता विवादलाई आन्तरिक लोकतन्त्रका भन्दै अधिकांश दलभित्र नेताहरूको शक्ति आर्जनको प्रतिस्पर्धा चलेको छ ।
सत्ताको नेतृत्वकर्ता दल नेकपा एमालेमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय हुन खोजेसँगै अन्तरकलह चुलिएको छ । एमालेले औपचारिक रूपमै पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा प्रवेश गर्न नदिएपछि नेताहरू विभाजित देखिएका छन् । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले पार्टीभित्रको विवाद मिलाउनै तल्लीन देखिनुभएको छ । उहाँले सरकारलाई प्रभावकारी बनाउनेतर्फ पर्याप्त समय दिन सक्नुभएको छैन । बरु आगामी वर्ष हुने पार्टीको ११औं महाधिवेशनबाट तेस्रो पटक अध्यक्ष बन्ने ध्याउन्न छ ।
सत्ता गठबन्धनको ठूलो दल नेपाली कांग्रेस पनि विवादै विवादको भुमरीमा छ । पार्टीभित्र गुट-उपगुट बढेको बढ्यै छन् । सभापति शेरबहादुर देउवालाई छैठौं पटक प्रधानमन्त्री बन्ने लालसाबाहेक अरू ठोस योजना देखिँदैन । सरकारलाई प्रभावकारी बनाउने भन्दा पनि आगामी महाधिवेशनमा कसरी नेतृत्वमा पुग्न सकिन्छ भन्ने होड कांग्रेसका नेताहरूमा छ । नेता शेखर कोइराला त झन् सुरुदेखि नै सरकार र पार्टी नेतृत्वको आलोचनामै केन्द्रित हुनुहुन्छ ।
कांग्रेसको बागमती प्रदेशमा त झन् नेताहरूको टकरावले आफ्नै नेतृत्वको सरकार नै ढल्ने अवस्थामा पुगेको छ । व्यक्ति केन्द्रित राजनीति र सत्ता हाबी हुँदा कांग्रेस र एमाले असफल उन्मुख देखिएका हुन् ।
आन्तरिक विवादमा सत्ता गठबन्धन मात्र होइन, विपक्षी दलहरू पनि उत्तिकै फसेका छन् । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रमा आन्तरिक लोकतन्त्रको नाममा उपमहासचिव जनार्दन शर्माले समानान्तर पार्टी नै चलाइरहनुभएको छ । अध्यक्ष पुष्पकमल दाहालले पटक पटक त्यसको प्रतिवाद गर्नुपरेको छ । तर उहाँ आफैं निरीह देखिनुभएको छ । बरु अध्यक्ष दाहाल फेरि सत्तामा पुग्ने बाटो खोजिरहनुभएको छ । पार्टीभित्र एकमत बनाएर जनतामा जान उहाँले सक्नुभएको छैन ।
संसद्को चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले जेलभित्रैबाट पार्टी चलाउँदै आउनुभएको छ । उहाँको कार्यशैलीलाई लिएर पार्टीभित्र असन्तुष्टि बढ्दो छ । आन्तरिक विवादमा फसेको रास्वपाको असन्तुष्टि विस्फोट हुन मात्र बाँकी छ ।
त्यसो त विपक्षी मोर्चामा अटाउन नसकेको राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सग्लो रूपमा अघि बढ्न सकेको छैन । राजावादी आन्दोलनबाटै कित्ताकाट राजनीति सुरु भएको राप्रपाभित्रको विवाद निर्वाचन आयोगसम्म पुगेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी र निर्णय एकलौटी गरेको भन्दै महामन्त्री धवल शमशेर लगायतका नेता निर्वाचन आयोगमा पुगेका छन् । अध्यक्ष माधवकुमार नेपालमाथि भ्रष्टाचारको मुद्दा लागेपछि नेकपा एकीकृत समाजवादी पनि विवादको भूमरीमा छ । एमालेबाट तीन वर्षअघि अलग भएको एकीकृत समाजवादी जुनसुकै बेला पनि फुट्ने संघारमा पुगेको छ । जुनसुकै पार्टी पनि विधि र पद्धतिअनुसार चल्न नसक्दा आलोचनाको घेरामा पुगेका छन् । यसले राज्यका संरचनामाथि नै प्रश्न उठ्न थालेको छ ।
त्यसो त मधेश केन्द्रित राजनीति गर्दै आएका नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टी नेपालभित्र पनि आन्तरिक कलह छ । घूस काण्डमा मुछिएकी नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले कार्यवाहक अध्यक्ष तोके पनि विवाद उत्कर्षमा छ । महन्थ ठाकुर नेतृत्वको लोसपामा एउटै व्यक्तिलाई दोहोर्याई तेहर्याई मन्त्री बनाइएको भन्दै पार्टी नै विभाजन हुने अवस्थामा पुगेको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि जसपा नेपालभित्र विवाद छ ।
देश सञ्चालन गर्ने राजनीतिक दलहरू एकपछि अर्को गर्दै आन्तरिक विवादमा फस्दा सिंगो शासन प्रणालीले लय समाप्त सकेको छैन । नेताहरूको व्यक्तिगत स्वार्थ र हठले दलहरू विभाजन उन्मुख भइरहादा उनीहरूबाट जनताले गरेको आशामा कालो बादल मडारिँदै गएको देखिन्छ ।