नेपाली कांग्रेस बागमतीमा विवाद, मुख्यमन्त्री लामालाई संसदीय दलको नेताबाट हटाउन अविश्वास प्रस्ताव दर्ता

श्रावण ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेपाली कांग्रेस बागमतीमा विवाद, मुख्यमन्त्री लामालाई संसदीय दलको नेताबाट हटाउन अविश्वास प्रस्ताव दर्ता

हेटाैँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई नेपाली कांग्रेस संसदीय दलको नेताबाट हटाउन २१ जना प्रदेशसभा सदस्यले संसद् सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

संसद् सचिवालयका सचिव कृष्ण तामाङलाई २१ जना सांसदहरूको हस्ताक्षरसहितको अविश्वासको प्रस्ताव बुझाइएको हो । संसदीय दलका नेता लामाले जन अपेक्षाअनुसार काम गर्न नसकेको निष्कर्षसहित सरकारका ४ जना मन्त्रीले शुक्रबार राजीनामा समेत बुझाएका छन् । 

सुरजचन्द्र लामिछाने, मीनकृष्ण महर्जन, बिमल ठकुरी र मदुकुमार श्रेष्ठले राजीनामा दिनुभएको हो । बागमतीमा ३७ जना प्रदेश सभा सदस्य रहेको कांग्रेसको संसदीय दलको नेता बन्न १९ मत आवश्यक हुन्छ । बहुमत सदस्यहरूको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता भएको हो ।

संसदीय दलको कार्यालयमा कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका इन्द्र बानियाँको नेतृत्वमा सांसदहरूको बैठक बसेको थियो । बैठकपछि अविश्वास प्रस्ताव दर्ता भएको हो ।

प्रदेश सरकारले आर्थिक २०८२/८३ का लागि ल्याएको बजेटमा कांग्रेसभित्र चर्को विवाद भएको थियो । बजेट विवाद उत्कर्षमा पुग्दा कांग्रेस सांसदहरू सरकारको नेतृत्व परिवर्तन गर्ने पक्षमा पुगेका हुन् । संसदीय दलको नेता नै मुख्यमन्त्री हुने व्यवस्था अनुसार लामालाई मुख्यमन्त्रीबाट हटाउनको लागि संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरिएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.