काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता वामदेव गौतमले आफूले नेतृत्व लिएको आन्दोलन अहिलेसम्म असफल नभएको दाबी गर्नुभएको छ ।
नेपाल राष्ट्रिय एकता अभियान र नेकपा (एकीकृत समाजवादी)बीचको एकता कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले आफूले जिम्मा लिएको आन्दोलन अहिलेसम्म सफल मात्रै भएको जिकिर गर्नुभयो ।
एक्लै हुँदा सफल हुन नसकेको भन्दै अब आफू एकता गरेर नेकपा (एकीकृत समाजवादी)मा आएको उहाँले बताउनु भयो । नेपालमा कम्युनिष्ट पार्टी एउटै निर्माण गर्नुपर्ने उहाँकाे भनाइ छ ।
उहाँले भन्नुभयो, ‘आज म एक्लै आएको छैन । एक्लै आउँदा कहिल्यै पनि सफल भइन । चार वर्ष लाग्यो । त्यसो भएर आज म नेकपा एकता राष्ट्रिय अभियान बोकेर आएको छु । धेरै कमरेडहरूलाई सँगै ल्याएको छु । नेपालमा कम्युनिष्ट पार्टी एउटै निर्माण गर्नुपर्छ । छरिएर रहेका कम्युनिष्ट पार्टीलाई एकतावद्ध गर्नुपर्छ । आवश्यकता पर्यो भने यी हातहरू हतियारको रूपमा प्रयोग हुन्छन् । हतियारको रूपमा प्रयोग गर्दछु । म आन्दोलनको नेता हुँ । मैले जिम्मा लिएको आन्दोलन अहिलेसम्म असफल भएकै छैन । सफलतमात्रै प्राप्त भएको छ ।’
नेता गौतमले नेपाली जनतालाई मालिक बनाएर छोड्ने बताउनु भयो ।