एमालेमा आफ्नो भूमिका केन्द्रीय समितिले निर्धारण गर्ने पूर्वराष्ट्रपति भण्डारीको भनाइ

असार ३१, २०८२ |कान्तिपुर टीभी संवाददाता
एमालेमा आफ्नो भूमिका केन्द्रीय समितिले निर्धारण गर्ने पूर्वराष्ट्रपति भण्डारीको भनाइ

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेमा आफ्नो भूमिका केन्द्रीय समितिले निर्धारण गर्ने बताउनुभएको छ । पार्टीले आफूलाई केन्द्रीय सदस्यका रूपमा विधान महाधिवेशनमा सहभागी गराउने आशा पनि उहाँले व्यक्त गर्नुभएको छ ।

मदन भण्डारी फाउन्डेसनले आज काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा भण्डारीले आफ्नो जिम्मेवारी केन्द्रीय कमिटीको बैठकले निर्णय गर्ने बताउनुभएको हो । १०औं महाधिवेशनका प्रतिनिधिहरू मात्रै विधान महाधिवेशनको प्रतिनिधि हुने हुँदा तपाईं कसरी विधान महाधिवेशनमा सहभागी हुनुहुन्छ भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा भण्डारीले केन्द्रीय सदस्य र प्रतिनिधिहरू थप हुने यसअघिका अभ्यास भएकाले पार्टीले यसबारे निर्णय गर्ने आशा व्यक्त गर्नुभयो । 

एमालेले आफूलाई केन्द्रीय सदस्य अथवा आमन्त्रित केन्द्रीय सदस्यका रूपमा पनि विधान महाधिवेशनमा सहभागी गराउन सक्ने उहाँको भनाइ छ ।

अर्को प्रसंगमा पूर्वराष्ट्रपति भण्डारीले संवैधानिक तथा कानुनी व्यवस्थाअनुसार नै आफूले २०७७ र २०७८ सालमा संसद् विघटन सदर गरेको दाबी गर्नुभयो । तर आफ्नो निर्णयमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको दबाब भने नरहेको उहाँले प्रस्ट्याउनुभयो । यसअघि पनि पटक पटक संसद् विघटन भएकाले यसको संवैधानिक, राजनीतिक पाटोको बारेमा छलफल गर्न भने आफू तयार रहेको उहाँको भनाइ छ ।

भण्डारीले तलदेखिकै कार्यकर्ताको न्यायोचित व्यवस्थापन हुनुपर्ने, व्यक्ति प्रधान नभएर पार्टी संस्थागत ढंगले अघि बढ्नुपर्ने, जनताको बहुदलीय जनवादलाई संस्थागत ढंगले बढाउनु पर्ने मत पनि व्यक्त गर्नुभयो । 

भण्डारी सक्रिय राजनीतिमा फर्किएसँगै मदन भण्डारी फाउन्डेसन पनि सक्रिय भएको छ । फाउन्डेसनले हाल देशव्यापी अभियान थालेको छ । पहिलो चरणमा फाउन्डेसनले मदन भण्डारीको ७५ औं जयन्ती मूल व्यवस्थापन समिति गठन गरेको छ । विद्यादेवी भण्डारी संरक्षक रहेको ७५ सदस्यीय समितिको संयोजकमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल चयन हुनु भएको छ । समितिका सदस्यमा अधिकांश भण्डारी राजनीतिमा फर्किनु पर्छ भन्ने पक्षमा उभिएका नेता-कार्यकर्ता छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.