काठमाडौं । घुस मोलमोलाइमा मुछिएका सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई तत्काल बर्खास्त गर्न चौतर्फी दबाब बढ्दै गए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेसम्म कुनै कदम चाल्नुभएको छैन । प्रधानमन्त्री ओलीले मन्त्री गुप्तालाई आज बिहान बालुवाटार बोलाएर घटनाबारे चासो राखे पनि कारबाही गर्ने विषयमा भने मौनता देखाउनुभएको छ ।
सत्तारुढ दल कांग्रेस र एमालेका नेताहरूले भने मन्त्री गुप्तालाई तत्काल बर्खास्त गर्न र सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन् । आफैं सुशासन आयोगको अध्यक्ष रहेको र भ्रष्टाचारीको मुख पनि हेर्दिनँ भनेका प्रधानमन्त्री ओलीले घुस मोलमोलाइमा संलग्न र त्यसमा मुछिएका मन्त्रीलाई संरक्षण गरेको भन्दै चौतर्फी आलोचना भैरहेको छ । अहिले मन्त्री गुप्ता समेतको उपस्थितिमा बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ । संसद्मा भने एमालेकै सांसदले दुनियाँले सुनेको अडियो सरकारले नसुनेझै गर्नु लोकतन्त्रको अपमान भएको आपत्ति जनाएका छन् ।
प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले घुस प्रकरणमा तानिएका मन्त्रिमाथि छानविन गर्न र त्यसबारे जवाफ प्रधानमन्त्रीले दिन माग गरे । नेकपा एमालेका सांसद किरणकुमार साहले सामान्य प्रशासनमन्त्री गुप्ताले घुस मोलमोलाइ गरेको अडियो सार्वजनिक भैसक्दा पनि सरकार किन चुप बसेको भन्दै तत्काल बर्खास्त गर्न माग गर्नुभयो ।
विपक्षी नेकपा माओवादी केन्द्र र राप्रपाका सांसदहरुले पनि घुस लेनदेनको अडियो सार्वजनिक भैसके पनि सरकार मौन बसेको भन्दै मन्त्रीको संलग्नताबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टीले घुस प्रकरणमा सामान्य प्रशासनमन्त्री गुप्ता, भूमि व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारी र भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानविन गर्नुपर्ने माग गरेको छ ।
सत्ता संरचना मानव तस्करी र भ्रष्टाचारमा संलग्नहरुलाई उन्मुक्ति दिने रक्षा कवच भएको आरोप पनि रास्वपाले लगाएको छ ।