दुई ठूला दलको मिलेमतोमा संसद्‌‌लाई बिचौलियाको खेलमैदान बनाइयो : माओवादी अध्यक्ष दाहाल

असार ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
दुई ठूला दलको मिलेमतोमा संसद्‌‌लाई बिचौलियाको खेलमैदान बनाइयो : माओवादी अध्यक्ष दाहाल

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दुई ठूला दलको मिलेमतोमा सार्वभौम संसद्लाई बिचौलियाको खेलमैदान बनाइएको आरोप लगाउनुभएको छ । प्रतिनिधि सभा बैठकलाई आज सम्बोधन गर्दै दाहालले संसद्लाई बिचौलियाको खेल मैदान बनाउने प्रवृत्ति देश र जनताका लागि लज्जास्पद र खेदजनक भएको टिप्पणी गर्नुभयो । 

बिचौलियाको स्वार्थ र भ्रष्टाचारीको संरक्षणमा वर्तमान सरकार चलाएको आरोप पनि उहाँले लगाउनुभयो । मन्त्रीहरू नै खुल्लमखुल्ला लाखौंको डिल गरिरहेको भन्दै उहाँले जहाँ सरकार, त्यही भ्रष्टाचार र बेथितिको स्थिति रहेको बताउनुभयो ।

अध्यक्ष दाहालले जताततै भ्रष्टाचार र अराजकताले मुलुक उल्टो दिशातिर गइरहेको भन्दै गठबन्धन र सरकारकै रबैयाका कारण लोकतन्त्र संकटमा परेको बताउनुभयो । केपी शर्मा ओली नेतृत्वको सरकारको एक वर्ष अर्थतन्त्रका लागि खेर गएको अवसरका रूपमा रहेको टिप्पणी गर्दै उहाँले राष्ट्रिय गौरवका आयोजनाको प्रगति दयनीय रहेको र ११ महिनामा वैदेशिक रोजगारीमा बढे पनि रेमिट्यान्स नबढेको बताउनुभयो ।

संसद् र संसदीय समितिमा भइरहेका भूमिकाप्रति असन्तुष्टि जनाउँदै उहाँले विधेयकहरू सर्वसम्मत पारित भएर प्रतिनिधि सभामा पुग्दा चलखेल र हस्तक्षेपका कारण अगाडि बढ्न नसकेको बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.