नवराज सुवेदीको प्रतिक्रियाः अध्यक्ष लिङदेनको स्वेच्छाचारिता रोक्न निर्वाचन आयोग गुहारेँ

असार २९, २०८२ |कान्तिपुर टीभी संवाददाता
नवराज सुवेदीको प्रतिक्रियाः अध्यक्ष लिङदेनको स्वेच्छाचारिता रोक्न निर्वाचन आयोग गुहारेँ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी-राप्रपाको अनुशासन समितिबाट हटाइएपछि वरिष्ठ नेता नवराज सुवेदीले निर्वाचन आयोगमा उजुरी दिनुभएको छ । 

अध्यक्ष राजेन्द्र लिङदेनले असार २५ गते नेता सुवेदी पार्टी सदस्य नरहेको निष्कर्ष निकाल्दै अनुशासन समिति अध्यक्षबाट हटाएर रोशन कार्कीलाई अध्यक्ष पदमा मनोनित गर्नुभएको थियो । 

सोही निर्णयका विरूद्ध पार्टीका पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनी र महामन्त्रीद्वय धवल समशेर जबरा र कुन्ती शाहीसहित आइतबार उहाँ निर्वाचन आयोग पुग्नुभएको हो । 

आयोगमा उजुरी दिएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता सुवेदीले पार्टीको निर्णयबिना अध्यक्षको स्वेच्छाचारिताले आफूलाई अनुशासन समितिबाट हटाएको कारण उजुरी दिन पुगेको प्रतिक्रिया दिनुभयो । 

उहाँले अध्यक्ष लिङदेनले प्राकृतिक न्यायको विरुद्धमा निर्णय गरेको पनि आरोप लगाउनु भयो । उहाँले पार्टीभित्र भइरहेको षड्यन्त्र नहोस् र निष्पक्ष न्यायका लागि आयोगमा उजुरी दिएको दोहोर्‍याउँदै उहाँले थप प्रतिक्रिया पछि दिने बताउनु भयो ।

उहाँले राजसंस्था पुनःस्थापनको आफूहरूको आन्दोलन जारी रहेको पनि दाबी गर्नुभयो । पार्टीभित्र कुनै गुट नहुन् भन्ने पक्षमा आफू रहेको पनि उहाँको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.