प्राप्त उपलब्धिको रक्षा आजको प्रमुख जिम्मेवारी- एमाले महासचिव पोखरेल

असार २९, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्राप्त उपलब्धिको रक्षा आजको प्रमुख जिम्मेवारी- एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्राप्त उपलब्धिको रक्षा गर्नु आजको नेपाली समाजको प्रमुख जिम्मेवारी भएको बताउनुभएको छ ।

राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवअधिकार एलाइन्स) को २६औँ स्थापना दिवसका अवसरमा आइतबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले आजको अधिकार प्राप्तिको लागि धेरै त्याग र बलिदान भएको बताउनुभयो । यसमा नेपालका राजनीतिक दलले निक्कै ठुलो संघर्ष गर्नुपरेको उहाँले स्मरण गराउनुभयो ।

२००७ को परिवर्तन पछि नेपाली जनताले केही अधिकार पाएका भए पनि पुनः राजाहरूले त्यो खोसेका पोखरेलले बताउनुभयो । नेपालका राजनीतिक दलहरूले राजनीतिक अधिकार प्राप्तिका लागि नै लामो समय लड्नु परेको उहाँले सुनाउनुभयो । नेपालमा राजनीतिक दलिले शासन नै गर्न नपाएका बताउँदै राजाहरू नेपाली जनतालाई अधिकार दिन कहिल्यै तयार नभएका उहाँले स्पष्ट पार्नुभयो ।

राज्य कमजोर हुँदा नागरिक बलियो हुन नसक्ने बताउँदै उहाँले राज्य खोक्रो भएका कारण नागरिकलाई संविधानले दिएका आधारभूत अधिकार पनि दिन नसक्ने अवस्था नआएको स्पष्ट पार्नुभयो । अधिकारको मात्र कुरा गर्न, कर्तव्य निर्वाह नगर्ने कुराले देश कमजोर भएको पोखरेलको धारणा छ । 

लोकतान्त्रिक राज्य जति बलियो हुन्छ त्यति नै मानव अधिकार सुनिश्चित हुने उहाँले बताउनुभयो । राज्यलाई मानवअधिकार विरोधी भनि गरिने परिभाषा नै गलत भएको पोखरेलको धारणा छ । यसले सामाजिक अराजकता बढाउने उहाँको उहाँको भनाइ छ । 

सामाजिक अराजकताले अन्ततः राज्यलाई कमजोर बनाउने र मुलुकको विकासलाई रोक्ने उहाँले धारणा राख्नु भयो । सामाजिक अराजकताले साम्राज्यवादको सेवा गर्ने उहाँले स्पष्ट पार्नुभयो । लोकतान्त्रिक राज्य मानवअधिकार विरोधी नभई मानवअधिकारको रक्षक भएको उहाँले बताउनुभयो ।

वर्तमानको निराशामा टेकेर लोकप्रिय कुरा गरी समाजमा भ्रम फिँजाएर राजनीति गर्नेहरूले देश र जनताको हितमा काम नगर्ने उहाँको धारणा छ । उनीहरूले सामाजिक अराजकता बढाउने र प्रतिगमनलाई नै सहयोग पुर्‍याउने पोखरेलले बताउनुभयो ।

पोखरेलले नेपालको आर्थिक विकासमा अहिले नयाँ चुनौती सिर्जना भएको बताउनुभयो । पढेलेखेको युवा पुस्ता देश भित्र केही गर्ने होइन बाहिर जाने सपना बोकेर बसेको बताउँदै उहाँले यो देश विकासको लागि सबैभन्दा ठुलो चुनौती भएको स्पष्ट पार्नुभयो । 

देशलाई समृद्ध बनाउने हो भने नागरिकहरू समृद्धिको यात्रामा जुट्नै पर्ने उहाँले बताउनुभयो । सबै देश त्यही देशका नागरिकले नै बनाएका बताउँदै उहाँले देश बनाउने हो भने नागरिक नै जुट्नु पर्ने धारणा राख्नु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.