काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले एक वर्षमा अर्थतन्त्रका १८ वटा क्षेत्रका सूचक सकारात्मक बनेको दाबी गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत निर्माण, उद्योग, विद्युत् तथा ग्यास, प्रशासनिक सेवा, सूचना प्रविधि, व्यापार, शिक्षा, स्वास्थ्य सेवा र खानी क्षेत्रका सूचक राम्रो बनेको जानकारी दिनुभएको हो । यस्तै यातायात, बैंक तथा बिमा, औद्योगिक उत्पादन, घर जग्गा, कृषि तथा वन, वैज्ञानिक सेवा र आवास तथा भोजनका क्षेत्रमा सुधार भएको उहाँको भनाइ छ ।
प्रधानमन्त्री ओलीले स्वास्थ्य बीमा पहिलेभन्दा दोब्बर भएको र आठ जटिल रोगका बिरामीले हाल पाइरहेको एक लाख उपचारमा थप एक लाख गरी दुई लाख सुविधा प्राप्त गर्नसक्ने पनि बताउनुभएको छ ।
यस्तै गत वर्षको भन्दा १ खर्ब ८ अर्बले राजस्व बढेको र अर्थतन्त्रको आकार ६१ खर्ब पुगेको उहाँको भनाइ छ ।