अमेरिकाले युक्रेनलाई पेट्रिएट क्षेप्यास्त्रसहित अत्याधुनिक सैन्य हतियार आपूर्ति गर्ने

असार ३०, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
अमेरिकाले युक्रेनलाई पेट्रिएट क्षेप्यास्त्रसहित अत्याधुनिक सैन्य हतियार आपूर्ति गर्ने

काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्र्म्पले युक्रेनलाई अत्याधुनिक सैन्य हतियार आपूर्ति गर्ने र त्यसमा पेट्रिएट क्षेप्यास्त्र रक्षा प्रणाली समेत संलग्न रहने बताउनुभएको छ । केही रिपोर्टहरूले अमेरिकाले युक्रेनलाई आक्रामक हतियार समेत पठाउने संकेत गरेका छन् । यसअघि गत साता युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाले युक्रेनलाई हतियार आपूर्ति पुन: सुरु गरेको बताउनुभएको थियो । 

युक्रेनलाई सैन्य सहायता केही दिनका लागि स्थगित गरेको अमेरिकाले गत सातादेखि निरन्तरता दिएको हो । यसैबीच ट्रम्पले कुरा भने राम्रो गर्ने तर बेलुका सबैमाथि बम प्रहार गर्ने गरेको भन्दै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचना गर्नुभएको छ । निकै प्रयास गर्दा पनि रूस र युक्रेनबीच अस्थायी युद्धविराम गराउने प्रयास सफल नभएपछि ट्रम्पले पुन: एक पटक पुटिनप्रतिको दिक्दारी व्यक्त गर्नुभएको हो ।

पुटिनका दूत तथा रूसी वार्ता टोलीका सदस्य किरिल दिमित्रिएभले भने व्यवधान सिर्जनाका असंख्य प्रयासहरू भइरहे पनि रूस र अमेरिकाबीचको संवाद जारी रहने बताउनुभएको छ ।

उता युक्रेनको राजधानी किएभ पुग्नुभएका अमेरिकी विशेष दूत केइथ केलोगले आजै राष्ट्रपति जेलेन्स्कीसँग भेटवार्ता गर्नुभएको छ । सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै जेलेन्स्कीले केलोगसँगको भेट फलदायी भएको उल्लेख गर्नुभएको छ । दुवैबीच युक्रेनको हवाई रक्षा प्रणालीलाई सुदृढ पार्ने, युरोपसँगको साझेदारीमा हतियार खरिद गर्ने र रूस तथा उसलाई मद्दत गर्ने देशमाथि प्रतिबन्ध लगाउने लगायतका विषयमा छलफल भएको उल्लेख गर्नुभएको छ ।

यसबीचमा रूसले युक्रेनमा ड्रोन र क्षेप्यास्त्र आक्रमण गर्ने कार्यलाई गए राति पनि निरन्तरता दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । गए राति रूसले युक्रेनका १० स्थानलाई लक्षित गर्दै १३६ वटा ड्रोन तथा ४ वटा क्षेप्यास्त्र प्रहार गरेको युक्रेनले जनाएको छ ।