काठमाडौं । क्लब विश्वकपको फाइनलमा पीएसजी र यसका समर्थक स्तब्ध भए । लगातार जित हासिल गरेको पीएसजी क्वाड्रिबलबाट एक जित टाढा थियो । टिम शानदार लयमा थियो भने विपक्षी पनि चेल्सी थियो, जो सहजै पराजित हुने ठानिएको थियो । तर त्यही चेल्सीले लामो समयपछि आफ्नो स्थिर र उत्कृष्ट लयमा फर्किएर पीएसजीलाई ३-० ले स्तब्ध बनाएर क्लब विश्वकपको उपाधि जित्यो । इतिहासमै चेल्सीले जितेको यो दोस्रो क्लब विश्वकप हो ।
पेरिस सेन्ट जर्मेन-पीएसीजी युरोपको च्याम्पियन क्लब हो । चेल्सी युरोपकै तेस्रो श्रेणीको प्रतियोगिता कन्फरेन्स लिगको विजेता हो । यी दुईले प्रतिस्पर्धा गरेको महादेशीय लिगको स्तरमा धेरै अन्तर छ । त्यसमाथि च्याम्पियन्स लिगको फाइनलमा इन्टर मिलानलाई सजिलै ५-० ले हराएर उत्साहित हुँदै अमेरिका गएको थियो पीएसजी ।
फाइनलसम्म पुग्न पीएसजीले कसलाई पो हराएन ? लियोनल मेस्सीको इन्टर मायामी, १५ पटकको च्याम्पियन्स लिग विजेता रियाल मड्रिड, बायर्न म्युनिख तथा एट्लेटिको मड्रिड उसका शिकार भए । पीएसजीले १६ गोल गर्दा एक गोलको मात्रै सामना गर्यो । उसले, नकआउटका सबै खेल क्लिन सिट राख्यो । यता, चेल्सी भने तुलनात्मक रूपमा कमजोर मानिएका टिमलाई हराएर फाइनल पुगेको थियो । त्यसमाथि चेल्सीको नतिजा कुनै खास थिएन । धेरैले अनुमान गरेका थिए, क्लब विश्वकपको फाइनल पनि च्याम्पियन्स लिग फाइनल सरह पीएसजीको पक्षमा एकतर्फी बन्नेछ ।
त्यसैले, चेल्सी डिफेन्डर लेभी कोलविलले फाइनलअघि भनेका थिए यदि सबैले चेल्सी फाइनलमा पराजित हुने टिम मान्छ भने त्यस स्थितिमा इङ्लिस क्लबलाई गुमाउने केही पनि रहने छैन । त्यसैले चेल्सीले फाइनल खेल स्वतन्त्र भएर खेल्नेछ ।
भयो पनि त्यस्तै, न विश्वविजेता प्रशिक्षक लुइस एनरिकोको रणनीति सफल भयो, न ओउसमान डेम्बेलेको जादू चल्यो, न असरफ हाकिमीले नै नतिजामा कुनै परिवर्तन गर्न सके । यो खेलका हिरो रहे दुई जना-चेल्सी प्रशिक्षक इजो मारेस्का र मैदानमा कोल पाल्मर । कोल पाल्मरले दुई गोल गर्नुका साथै अर्को गोलका लागि पास दिएका थिए, जुन जोआओ पेड्रोले जाली चुमाए । पहिलो हाफमै ३ गोलको अग्रता बनाएको चेल्सीले बाँकी खेलमा उत्कृष्ट रक्षात्मक प्रदर्शन गर्दै त्यो नतिजा कायम राख्यो ।
चेल्सीका प्रशिक्षक एन्जो मारेसकाले खेलपछि पहिलो १० मिनेटमै खेल जितेको महसुस गरेको बताए । पीएसजीलाई खेलमै प्रवेश गर्न नदिने योजनाअनुसार आक्रामक र उच्च प्रेसिङ खेलेको थियो चेल्सीले । मारेस्काले पीएसजीको डिफेन्सको बायाँ भागलाई कमजोर ठानेर त्यहीँबाट आक्रमण केन्द्रित गरेका थिए ।
यता पीएसजीले खेलमा केबल बल पोजेसन बनायो । तर फाइनलमा पीएसजीले एक गोल पनि गर्न सकेन । बरु चेल्सीले १० प्रहार गर्यो र तीन गोल गर्यो । अनि उपाधि आफ्नो बनायो । यो उपाधिसँगै चेल्सी अब आधिकारिक रूपमा चार वर्षका लागि विश्व च्याम्पियन बनेको छ र खेल पोसाकमा विश्व विजेताको ब्याच लगाउन पाउनेछ । टोड बोहेलीको स्वामित्वमा पछिल्ला दुई वर्षमा साढे २ खर्ब रुपैयाँभन्दा धेरै खर्च गरेर युवा टोली बनाएको चेल्सीमाथि आलोचनाको वर्षा थियो । तर यही युवा टोलीले यूइएफए कन्फरेन्स लिग र क्लब विश्वकप दुवै जित्दै आफ्नो रणनीति सफल हुँदै गएको सन्देश दिएको छ ।
विश्वकपको फाइनलअघि पीएसजी जति बलियो अन्य कुनै क्लब देखिँदैन थियो । तर, फुटबल मैदानमा जसको रणनीति उत्कृष्ट हुन्छ त्यही टिम जितको हकदार हुन्छ भन्ने चेल्सीले पुष्टि गरेको छ । यी सबै कुराको साक्षी भए ८१ हजार समर्थक र मेट लाइफ रंगशाला । अब चेल्सीले यो आत्मविश्वासका साथ प्रिमियर लिगमा पनि चुनौती दिनेछ ।
- एजेन्सीहरूको सहयोगमा