काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सोमबारदेखि पार्टी मुख्यालय सानेपामा जारी छ । बैठकमा नेता शेखर कोइराला पक्षले नियमित समयमै महाधिवेशन गर्नुपर्ने पक्षमा नेतृत्वलाई दबाब दिँदै आएको छ । १५ औं महाधिवेशनको मिति तोक्न र कार्यतालिका सार्वजनिक गर्नुपर्ने उनीहरूको माग छ । तर सभापति शेरबहादुर देउवा पक्ष भने जसरी पनि महाधिवेशन पछाडि धकेल्ने ध्याउन्नमा छ ।
नेपाली कांग्रेसको शेखर कोइराला पक्षले १५ औं महाधिवेशन नियमित समयमै हुनुपर्ने दबाब नेतृत्वलाई दिँदै आएको छ । नेता कोइरालाले बैठकको पहिलो दिनमै समयमै महाधिवेशन हुन नसके त्यसको चित्तबुझ्दो जवाफ पदाधिकारीले दिनुपर्ने माग गर्नुभयो । त्यसयता कोइराला निकटका केन्द्रीय सदस्यहरूले महाधिवेशनको मिति र कार्यतालिका सार्वजनिक गर्नुपर्ने माग गरिरहेका छन् ।
सभापति शेरबहादुर देउवानिकट नेताहरू पनि महाधिवशेनको मिति तोक्नुपर्ने पक्षमा उभिएका छन् तर उनीहरूको मनसाय भने १ वर्ष थपेर २०८३ मा गर्नुपर्छ भन्ने पक्षमा छ ।
महाधिवेशनका लागि आवश्यक आठ तहका अधिवेशनहरू सम्पन्न हुनुपर्ने वैधानिक व्यवस्था छ, जसका लागि कम्तीमा एक वर्ष समय लाग्छ । तर हालसम्म क्रियाशील सदस्यताको नवीकरण र वितरण प्रक्रिया नै सम्पन्न भएको छैन । केही जिल्लामा यससम्बन्धी विवाद कायमै छ, जसका लागि महामन्त्री गगन थापाको नेतृत्वमा समिति गठन गरिएको छ । त्यो समितिले विवाद समाधानको काम गरिरहेको छ । सभापति देउवानिकट नेताहरू पहिला त्यो कार्यभार सम्पन्न गर्नुपर्ने बताइरहेका छन् ।
कांग्रेसको विधानअनुसार पदाधिकारीको कार्यकाल ४ वर्षको हुन्छ, तर एक वर्षसम्मको समयावधि थप गर्ने व्यवस्था पनि छ । अघिल्लो कार्यकालमा सभापति देउवाले उक्त प्रावधान प्रयोग गर्नुभएको थियो । यस पटक पनि त्यही बाटो अपनाउने रणनीतिमा देउवापक्ष छ ।