काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रकाश ज्वालाले सरकारसँग जनता अत्यन्त निराश रहेको र केही अपेक्षा पनि नराखेको टिप्पणी गर्नुभएको छ । पार्टीको केन्द्रीय सचिवालयको बैठकमा सरकारको कार्यसम्पादनको विषयमा छलफल भएको जानकारी दिँदै उहाँले नागरिक निराश रहेको बताउनुभएको हो ।
बैठकमा पार्टीका नेताहरुले बोल्ने क्रम सकिएपछि बैठकको निष्कर्ष र निर्णय सार्वजनिक गर्न मंगलबारका बिहान ११ बजे पुनः बैठक बोलाइएको उहाँले बताउनुभयो ।उहाँका अनुसार आइतबारको बैठकमा पार्टीको तर्फबाट सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ नेता डा. वेदुराम भुसाल, महासचिव घनश्याम भुसाल लगायतले समसामयिक राष्ट्रिय राजनीति, संगठन निर्माण जस्ता विषयमा आफ्ना विचार राख्नुभएको थियो । बैठकमा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीको विषयमा भने कुनै छलफल नभएको उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “कुनै व्यक्ति विशेषको बारेमा हाम्रो बैठकमा एजेन्डा बनेको छैन । पार्टी सचिवालयको बैठकमा राष्ट्रिय राजनीति, समसामयिक विषयवस्तुमा, आन्दोलनका विषयमा, संगठनात्मक विषयका एजेन्डाहरू छन् । ती एजेन्डामा केन्द्रित भएर नेताहरूले आआफ्ना धारणा राखेका छन् ।”