काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशमा केही राम्रो भए पनि भने जति गर्न नसकेको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले कसैले देशमा खतरा गरेको छ भनेर पनि नपत्याउन र देशमा केही भएन भनेर भन्नेहरूको कुरा पनि नपत्याउन विद्यार्थीलाई आग्रह गर्नुभयो ।
उहाँले आफूले अध्ययन गरेर मात्रै समर्थन र विरोध गर्न सुझाव दिनुभयो । देशमा केही राम्रो भएको तर केही राम्रो गर्न नसकिएको स्वीकार गर्नुभयो । राम्रो गरेकोमा धन्यवाद दिन र भनेजति गर्न नसकेकोमा प्रश्न गर्न आग्रह गर्नुभयो । विद्यार्थीलाई अब हाम्रो जिम्मा हो भनेर जिम्मेवारी लिँदै नथाक्न, नभाग्न र नगल्न सुझाव दिनुभयो ।
महामन्त्री थापाले भन्नुभयो, “कसैले यो देशमा खतरा गरेको छ, भएको छ भनेर नपत्याउनुस् । तर कसैले आएर यो देश बर्बाद भयो, झुर भयो भनेर पनि नपत्याउनुस् । दुई वटै रङ । यो देशमा केही राम्रो भएको छ । केही राम्रो गर्न सकिएको छैन । राम्रो गरेकोमा धन्यवाद भन्नुस् । गर्नुपर्ने जति राम्रो किन गरिनस् भनेर गाली पनि गर्नुस् । बाँकी रहेको म गर्छु भनेर जिम्मा लिनुस् न । नथाक्नुस्, नभाग्नुस् । नगल्नुस् । अडिएर बस्नुस् । नयाँ कुरा सिक्नुस्, क्वेश्चन गर्नुस् । क्रिटिकल हुनुस्, रमाइलो पनि गर्नुस् ।”
महामन्त्री थापाले अब आउने पुस्ताले आफूले भन्दा राम्रो काम गर्ने आफूलाई विश्वास रहेको बताउनुभयो ।