प्रधानमन्त्री ओली स्पेन भ्रमण सकेर स्वदेश फिर्ता, वित्त सम्मेलनका प्रतिबद्धता कार्यान्वयन गर्न विश्व समुदायलाई आह्वान

नेपालको विकासमा साथ दिन दातृ निकायलाई आग्रह
असार २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्री ओली स्पेन भ्रमण सकेर स्वदेश फिर्ता, वित्त सम्मेलनका प्रतिबद्धता कार्यान्वयन गर्न विश्व समुदायलाई आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको सेभियामा आयोजित विकासका लागि चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिई स्वदेश फर्कनु भएको छ । 

प्रधानमन्त्री ओलीलाई त्रिभुवन विमानस्थलमा सरकारका मन्त्रीहरू, उच्चपदस्थ सरकारी अधिकृत तथा सुरक्षा निकायका अधिकारीहरूले स्वागत गरे ।

विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका सचिव अमृत राईले प्रधानमन्त्रीले भ्रमणका क्रममा नेपालको विकासका लागि सहयोग गर्न अन्तर्राष्ट्रिय दातृ निकायलाई आग्रह गरेको जानकारी दिनुभयो । 

उहाँले विकासका लागि वित्त सम्मेलनका गरेका प्रतिबद्धता कार्यान्वयनमा प्रधानमन्त्रीको जोड रहेको पनि बताउनुभयो । राष्ट्रसंघीय विकासका लागि वित्त सम्मेलनका लागि राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेरेस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री ओली यही असार १४ गते त्यसतर्फ जानुभएको हो । 

सम्मेलनका क्रममा नेपालले अल्पविकसित, साना तथा टापु मुलुकका लागि विकासका चुनौतीबारे आफ्नो धारणा राखेको थियो । सम्मेलन दिगो विकासका लागि तत्काल र दीर्घकालीन लगानीका चुनौती घटाउनेसम्बन्धमा केन्द्रित थियो । 

सम्मेलनमा क्रममा प्रधानमन्त्री ओलीले विभिन्न मुलुकका सरकार प्रमुख, विश्व र क्षेत्रीय संस्था, वित्तिय र व्यापारिक संस्था, व्यवसायी, नागरिक समाजलगायतका प्रतिनिधिसँग भेटवार्ता गर्नुभएको थियो । 

विदेश भ्रमण सकेर स्वदेश फर्कँदा विमानस्थलमा प्रायजसो पत्रकारहरूसँग साक्षात्कार गर्नुहुने प्रधानमन्त्री ओली यसपटक भने सहभागी हुनुभएन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.