काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले १४ औं महाधिवेशन नियमित समय २०८२ मंसिरमै हुनुपर्ने माग गर्नुभएको छ । नियमित समयमा नहुने हो भने त्यसको चित्तबुझ्दो कारण सभापति र पदाधिकारीले दिनुपर्ने उहाँको भनाइ छ ।
सोमबारदेखि पार्टी मुख्यालय सानेपामा सुरु भएको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यसमेत रहनुभएका कोइरालाले १४ औं महाधिवेशन नियमित समयमै गर्नुपर्ने माग गर्नुभएको हो । त्यस्तै उहाँले नेपाली कांग्रेस र एमालेबीच ७ बुँदे सहमति अनुसार सरकार निर्माण भएको तर सहमति कार्यान्वयन नभएको भन्दै संविधान संसोधन हुन नसक्नुको चित्तबुझ्दो जबाफ सभापति शेरबहादुर देउवाले दिनुपर्ने माग पनि गर्नुभयो ।
बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले सरकारको गतिलाई लिएरसमेत आलोचना गरेका छन् । नेताहरुले सरकार गठनदेखि अहिलेसम्मको अवधिमा सरकारको कामको समीक्षा गर्नुपर्ने र चुनावी घोषणापत्र अनुसार काम भए-नभएको समेत मूल्यांकन गर्नुपर्ने आवाज उठाएका छन् । सरकारमा कांग्रेसको भूमिका निकै कमजोर भएकोमा समेत नेताहरुको असन्तुष्टि थियो।
बैठकमा १३ वटा एजेण्डामा छलफल जारी छ । बैठकले अधिवेसन हुन नसकेका भातृसंस्थाको अधिवेशनका लागि मितिसमेत प्रस्ताव पेश गरेको छ । सोमबारवाट सुरु भएको बैठकमा विभिन्न प्रतिवेदन पेश भएका छन् । सोमबार ११ जना केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेका छन् ।