काँग्रेस केन्द्रीय समिति बैठक : १३ वटा एजेण्डामा छलफल जारी

असार १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
काँग्रेस केन्द्रीय समिति बैठक : १३ वटा एजेण्डामा छलफल जारी

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक शुरु भएको छ । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको बैठकका १३ वटा एजेण्डा छन् । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले १ सय दिने अभियानको प्रतिवेदन पेश सम्बन्धमा जिल्लामा खटिएका नेताहरुले धारणा राख्ने क्रम जारी रहेको जानकारी दिनुभयो ।  साथै पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशिका संशोधनको विषय राख्नुका साथै प्रतिष्ठानको प्रतिवेदन पनि प्रस्तुत गर्नुभएको महतले बताउनु भयो । 

प्रवक्ता महतले क्रियाशील सदस्यता नवीकरणका बारेमा समेत छलफल हुने बताउनु भयो । भ्रातृ संगठनहरुले समयमै अधिवेशन गर्न नसकेको विषय, विदेशस्थित जनसम्पर्क मञ्च लगायतका बारेमा पनि छलफल हुने उहाँको भनाइ छ । नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ र नेपाल लोकतान्त्रिक संस्थागत र निजी विद्यालय संगठनको नाम संशोधनको विषयमा पनि छलफल हुनेछ । उहाँकाअनुसार कार्य सम्पादन समितिले गरेका निर्णयहरुलाई केन्द्रीय कार्यसमितिबाट अनुमोदन गरिने विषय पनि रहेको छ । जनप्रतिनिधि कार्य सम्पादन निर्देशिका पारित गर्ने विषय पनि छलफलको एजेण्डा बनेको छ । साथै संसद र सरकारमा पार्टीको भूमिकाको प्रभावकारिता, समसामयिक, राजनीतिक, सामाजिक, जनसरोकारका विषयमा छलफल हुने उहाँले बताउनु भयो ।

प्रवक्ता महतले भ्रातृ संगठनको अधिवेशन हुन नसकेकोमा आफ्नो आफ्नो दृष्टिकोण रहेको बताउँदै यस विषयमा केन्द्रीय समितिले निर्णय गर्ने बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.