काठमाडौं । प्रतिनिधि सभा पछिल्लो समय सांसदहरूको अमर्यादित गतिविधि र एक-अर्काप्रति गालीगलोजमा केन्द्रित हुन थालेको छ । असंसदीय भाषा त सदनमा सामान्य जस्तै हुन थालेका छन् ।
सत्तापक्ष र विपक्षी दलका सांसदहरूले आफ्नो पक्षका कमजोरी र आलोचना सुन्नै नचाहने अनि अर्को पक्षलाई कसरी हुन्छ खुइल्याउन खोज्ने प्रवृत्तिले प्रतिनिधि सभा विषयमा भन्दा आरोप प्रत्यारोपमा केन्द्रित हुने गरेको हो ।
सभामुखको आग्रह बेवास्ता गर्ने, एक अर्कालाई तल्लोस्तरका शब्दसहित गालीगलोज गर्नेक्रम आइतबारको प्रतिनिधि सभा बैठकमा देखियो । खासगरी भिजिट भिसा र मानव तस्करी प्रकरणमा पक्ष विपक्ष बनेर आरोप प्रत्यारोप र बचाउमा उत्रेका सांसदहरूले सदनको गरिमाकै उल्लंघन गर्दै असंसदीय व्यबहार देखाएका छन् ।
त्यसो त विधेयक र छलफलका विषयमा आफ्नो असहमतिलाई भद्र रूपमा राख्नुपर्नेमा सांसदहरूले रोष्ट्रमबाट विधेयक च्यात्ने र आक्रोश पोख्ने क्रम पनि बढेको छ।
नीति निर्माण गर्ने र सरकार बनाउने संघीय संसद मर्यादित र व्यवस्थित बनाउने जिम्मा सभामुखको पनि हो । त्यसैले असंसदीय र मर्यादा बाहिरका गतिविधि सदनमा बढ्दै गए भने ती कारवाहीका विषय पनि बन्नुपर्छ ।