माधव नेपालमाथि सोझिँदै नैतिकताको प्रश्न

असार १४, २०८२ |प्रकाश बम
माधव नेपालमाथि सोझिँदै नैतिकताको प्रश्न

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचारको आरोप लगाउँदै मुद्दा दायर गरेपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद स्वतः निलम्बनमा परेको छ । तर उहाँ नेकपा एकीकृत समाजवादीको अध्यक्ष र संसदीय दलको नेता कायमै हुनुहुन्छ । विगतमा नैतिकताको उदाहरण पेश गरेर प्रशंसा कमाउनुभएका उहाँमाथि नै अहिले नैतिकताको प्रश्न सोझिएको छ । 

२०६४ को संविधानसभा निर्वाचनमा आफू दुई निर्वाचन क्षेत्रबाट पराजित भएपछि र पार्टी तेस्रो भएपछि हारको सम्पूर्ण जिम्मेवारी लिँदै उहाँले नैतिकताका आधारमा राजीनामा दिनु भएको थियो । अहिले उहाँमाथि भ्रष्टाचारको गम्भीर आरोपमा मुद्दा दायर भएको छ र सांसद पदसमेत निलम्बनमा परेको अवस्था छ, तर यसपटक उहाँले विगतको जस्तो नैतिकता देखाउन सक्नुभएको छैन ।

२०६४ सालको संविधानसभा निर्वाचनमा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाल काठमाडौं र रौतहट दुवै क्षेत्रबाट पराजित हुनुभयो र पार्टी पनि तेस्रो दलमा सीमित भयो । यसपछि उहाँले हारको जिम्मेवारी लिँदै पदबाटै राजीनामा दिनुभएको थियो । यो नैतिकतालाई आजका दिनसम्म मानिसहरुले मानकका रुपमा सम्झने गर्छन् । तर अहिले पतञ्जलि जग्गा प्रकरणमा अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसंगै उहाँको सांसद पद निलम्बनमा छ । तर उहाँ नेकपा एकीकृत समाजवादी पार्टीको अध्यक्ष र संसदीय दलको नेतामा भने कायमै हुनुहन्छ, पार्टीबाट राजीनामा वा नेतृत्व हस्तान्तरण गर्ने पक्षमा उहाँ हुनुहुन्न ।

दुई दिनदेखि जारी पार्टीको सचिवालयको बैठक पनि उहाँकै नेतृत्वमा चलिरहेको छ । तर भ्रष्टाचारको गम्भीर मुद्दा लागेका व्यक्तिले पार्टी सञ्चालन गरिरहेको भन्दै आलोचना भएको छ । अध्यक्ष नेपाल भने अख्तियारको मुद्दालाई राजनीतिक प्रतिशोध भन्दै यसपटक नैतिकता देखाउने पक्षमा हुनुहुन्न । पार्टीका नेताहरु पनि अध्यक्षको बचाउमा उत्रिएका छन् ।

अध्यक्ष नेपालले जिम्मेवारी छाड्ने वा नछाड्नेबारे पार्टीमा छलफल नभएको र त्यो विषयमा संसदीय दलको बैठकबाट निर्णय लिने एकीकृत समाजवादीका नेताहरुको भनाइ छ ।

भ्रष्टाचार मुद्दापछि अध्यक्ष नेपालले जिम्मेवारी छाड्नुपर्छ या पर्दैन भन्नेमा पार्टीमा औपचारिक छलफल भएको देखिँदैन । अन्य तहका नेताहरु बचाउमा उत्रिँदा झलनाथ खनाललगायतका केही नेता भने अध्यक्षले जिम्मेवारी छाड्नुपर्ने पक्षमा छन् । तर उनीहरुले पनि यस विषयमा मुख खोलेका छैनन् । माधवकुमार नेपालजस्ता अनुभवी र नैतिकताको मानक मानिएका नेताको नैतिकताका विषयमा चासो र प्रश्न उठ्नु स्वाभाविक छ। उहाँले विगतमा सैद्धान्तिक रूपमा हारको जिम्मेवारी लिएर पद त्याग गर्न सक्नुभयो । आज गम्भीर भ्रष्टाचार मुद्दा दायर भएपछि पनि तत्कालका लागि जिम्मेवारी हस्तान्तरण गर्ने या पार्टीमा छलफल चलाउने नैतिकता उहाँले प्रस्तुत गर्न सक्नुभएको छैन ।


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।