काठमाडौं । एएफसी महिला एसियन कप छनोट खेल आइतबारदेखि उज्वेकिस्तानमा सुरु हुँदैछ । नेपालले, आइतबार नै लाओससँग खेल्दै छनोट यात्रा सुरु गर्नेछ । यो नेपाली महिला फुटवल टिमको एक सयौं अन्तराष्ट्रिय खेल पनि हो ।
छनोट खेलमा नेपाल , उज्वेकिस्तान, लाओस र श्रीलङका गरी चार टिमको सहभागिता छ । शनिबार भएको प्रि- म्याच कन्फरेन्समा सवै टिमले शीर्ष स्थानमा रहने लक्ष्य रहेको उल्लेख गरे । नेपाली टिमका मुख्य प्रशिक्षक प्याट्रिक डी वाइल्डले , प्रतियोगितामा सबैले राम्रो फुटवल खेलुन् भन्ने चाहना रहेको प्रतिक्रिया दिए । उनले आफनो टिम नै समूह विजेता बन्ने विश्वास गर्दै माथिल्लो स्तरको प्रतिस्पर्धाको अपेक्षा गरेका छन् । सबै चारै टिमले राम्रो तयारी गरेको पनि उनको भनाइ थियो । सावित्रा भन्डारी, रेखा पौडेल, रेनुका नगरकोटी, प्रिती राई, सविता राना मगर, सरु लिम्बु, एन्जीला तुम्बापो सुब्बा लगायतको नेपाली टिम सन्तुलित छ । प्रशिक्षक डी वाइल्डले आफ्नो टिम चुनौतीको लागि तयार रहेको बताए ।
यो छनोट खेलमा नेपाली टिमको कप्तानी कसले गर्छ भन्ने पनि चासो छ । अखिल नेपाल फुटवल संघले अहिलेसम्म कप्तानको नाम सार्वजनिक गरेको छैन । यसअघि गोलकिपर एन्जीलाले कप्तानको आर्म ब्यान्ड लगाउँदै आएकी थिइन् । उनको अनुपस्थितिमा सिनियर खेलाडी रेनुकाले नेतृत्व गर्ने गर्छिन् । डी वाइल्डको नेपाली महिला टिमको प्रशिक्षकका रुपमा लाओससँगको खेल डेब्यु हुनेछ । महिला फुटवलमा नेपाल र लाओस पहिलोपटक आमनेसामने हुन लागेका हुन् । फिफा वरियताका आधारमा लाओस नेपालभन्दा पछि छ । नेपाल एक सय र लाओस एक सय सातौं स्थानमा छ ।
प्रशिक्षक डि वाइल्डको तयारीका लागि समय कम पाएकोमा भने गुनासो छ । लाओसका प्रशिक्षक जोङ सोङ चोनले भर्खरै मात्र पुरुष टिमले नेपाललाइ पराजित गरेको र महिला टिमले पनि सोही लय कायम राख्ने विश्वास व्यक्त गरे । उनले नेपाली महिला टिमको प्रशंसा गर्दै खेल अत्यन्तै रोमान्चक हुने अपेक्षा गरेका छन् । उज्वेकिस्तान प्रशिक्षक कोट्राना कुल बाइटले नेपाली टिमको सामना गर्न लागेकोमा उत्साहित भएको बताइन् । डी वाइल्ड र कुलबाटइले लिथुयानियामा संगै काम पनि गरेका थिए । श्रीलङकन प्रशिक्षक एम आर एम जसमिनले आफ्नो टिमबाट धेरै अपेक्षा गर्न नहुने आशय ब्यक्त गरे । तालिकाको शीर्ष स्थानमा रहने टिम मात्र अर्को वर्ष अस्ट्रेलियामा हुने फाइनल चरणका लागि छनोट हुनेछ । पहिलो भए फिफा विश्वकप र ओलम्पिक छनोट खेलको पनि बाटो खुल्नेछ । खेल नेपाली समय अनुसार साँझ सवा ६ बजे सुरु हुनेछ ।