काठमाडौं । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ४ स्वर्ण र एक रजतसहित ३ वटा रेकर्ड कायम गरेकी अनिशा थारुसहित बागमती प्रदेशका १४ खेलाडीलाई लालीगुराँस नेशनल एकेडेमीले राष्ट्रिय खेलकुद प्रतिभा पुरस्कारबाट सम्मानित गरेको छ ।
मनमैंजुमा आयोजित सम्मान कार्यक्रममा एकेडेमीले खेलाडीलाई छात्रवृत्ति दिने घोषणा गरेको हो । केन्द्रीय प्रतियोगितामा राष्ट्रिय रेकर्डसहित स्वर्ण जित्नेलाई पूर्ण छात्रवृत्ति , प्रदेशमा पदक जित्नेलाई ७५ प्रतिशत तथा जिल्लामा पदक हात पार्नेलाई ५० प्रतिशत छात्रवृत्ति दिने एकेडेमीले जनाएको छ । अनिशा थारुले छात्रातर्फ लङ्गजम्पमा स्वर्ण, त्रिपलजम्पमा स्वर्णसहित रेकर्ड , चारसय मिटर दौडमा रजत, ४ गुणा एकसय मिटर रिलेमा स्वर्णसहित रेकर्ड र चार गुणा चारसय मिटर रिलेमा स्वर्णसहित रेकर्ड बनाएकी थिइन् ।
यस्तै दिना नेपालीले पनि दौडतर्फ एकसय र दुईसय मिटरमा स्वर्ण तथा चार गुणा एक सय र चार गुणा चार सय मिटर रिलेमा स्वर्णसहित रेकर्ड बनाएकी थिइन् । यसरी नै पदकधारी एथलेटिक्स, कराते र उसुका १४ खेलाडी तथा २ एथलेटिक्स प्रशिक्षक देवी बस्नेत र सीताराम चौधरी तथा एक उसु प्रशिक्षक सुवास मगरसहित ३ प्रशिक्षकलाई स्कुलले कदर पत्रसहित सम्मानित गरेको छ ।