इरानमा ६० जनाको राजकीय सम्मानका साथ अन्त्येष्टि

असार १४, २०८२ |कान्तिपुर टीभी संवाददाता
इरानमा ६० जनाको राजकीय सम्मानका साथ अन्त्येष्टि

एजेन्सी । इजरायलसँगको १२ दिने युद्धमा मारिएका इरानका उच्च सैन्य कमान्डरसहित ६० जनाको आज तेहरानमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

युद्धमा मारिएका उच्च सैन्य कमान्डरसहित आणविक वैज्ञानिक, महिला तथा बालबालिका गरी ६० जनाको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । इरानी सशस्त्र बलका प्रमुख मोहम्मद बघेरी, इस्लामिक रेभुलसनरी गार्ड्सका प्रमुख होसेन सलामी, शीर्ष आणविक वैज्ञानिक मोहम्मद मेहदी तेहरान्चीलगायतको अन्त्येष्टि गरिएको हो । उहाँका पत्नी तथा छोरीसँगै समाधिस्थ गरिएको छ । स्थानीय समयअनुसार बिहान ८ बजेदेखि सुरु भएको अन्त्येष्टि समारोहमा तेहरानमा ठूलो संख्यामा सर्वसाधारण सहभागी भएका थिए। मध्य तेहरानबाट सुरु भएको श्रद्धान्जली यात्रा आजादी स्क्वायर पुगेर टुंगिएको थियो। मृतकमध्ये केहीको तेहरानमै अन्त्येष्टि गरिएको छ भने केहीलाई उनीहरुको गृहनगर पुर्‍याइएको अल जजिराले जनाएको छ । इराकसँगको युद्धयता पहिलोपटक यति धेरै कफिन एकैपटक देखिएको तेहरानका बासिन्दाले बताएका छन् । राजकीय अन्त्येष्टिका लागि आज सार्वजनिक बिदा दिइएको थियो भने सहभागीहरुलाई निःशुल्क बस तथा मेट्रोको सुविधा दिइएको थियो । इजरायलसँगको युद्धमा इरानमा ६ सय २७ जना मारिएको तथ्यांक इरान सरकारले सार्वजनिक गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.