जसपा नेपालले लियो लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता

असार १३, २०८२ |अमर क्षितिज भण्डारी
जसपा नेपालले लियो लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता

दाङ । उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी-जसपा, नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयअनुसार, जसपाले प्रदेश स्तरबाट पनि समर्थन फिर्ता लिन थालेको हो । 

सोही निर्णयअनुसार लुम्बिनी प्रदेशमा वर्तमान सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएको जसपाले जनाएको छ । यो पार्टीबाट लुम्बिनी प्रदेश सभामा एक जना अम्विका काफ्लेकाे मात्रै प्रदेश सभा सदस्यको प्रतिनिधित्व छ । 

प्रदेश सभा सदस्य अम्बिका काफ्लेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रदेश सरकार र प्रदेश सभामा पेस गर्नु भएको छ । पार्टी विभाजन हुँदा काफ्ले जनता समाजवादी पार्टी तर्फ लागिन भने अन्य दुई जना सांसद जनता समाजवादी पार्टीतिर उभिएका थिए । 

काफ्ले समानुपातिक सांसद हुन् । एमालेका २९ र कांग्रेसका २७ गरी ५६ जना सांसदको समर्थनमा लुम्बिनीमा चेतनारायण आचार्यको नेतृत्वमा सरकार गठन भएको थियो । 

जसपा नेपालसहित केही साना राजनीति दलले सरकारलाई विश्वासको मत दिएका थिए । जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि कुनै असर नपर्ने जनाइएको छ ।


Image

अमर क्षितिज भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दाङ सहकर्मी हुन् ।