नेपाली राष्ट्रिय पुरूष क्रिकेट टोलीले अस्ट्रेलियामा 'टप इन्ड टी-२० सिरिज' खेल्ने

असार १३, २०८२ |खेल ब्युरो
नेपाली राष्ट्रिय पुरूष क्रिकेट टोलीले अस्ट्रेलियामा 'टप इन्ड टी-२० सिरिज' खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय पुरूष क्रिकेट टोलीले अस्ट्रेलियामा 'टप इन्ड टी-२० सिरिज' खेल्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानले शुक्रबार विज्ञप्ति जारी गर्दै नेपालले अस्ट्रेलिया भ्रमणका क्रममा 'टप इन्ड टी-२० सिरिज' खेल्ने जनाएको हो ।

क्यानका अनुसार सिरिज आगामी अगस्ट १४ देखि २४ तारिखसम्म हुने छ । नेपालले यसै वर्ष अक्टोबर १ देखि १७ सम्म ओमानमा हुने आइसीसी टी-२० विश्वकप २०२६ को एसिया छनोटको तयारीका लागी यो सिरिज खेल्न लागेको हो । 

छनोट अघि नेपालले सेप्टेम्बरमा वेस्ट इन्डिजसँग पनि तीन खेलको ऐतिहासिक टी-२०आई सिरिज खेल्दै छ । अस्ट्रेलिया भ्रमणका क्रममा नेपालले कम्तिमा ६ वटा टी-२० खेल खेल्नेछ । ती खेल डार्बिनस्थित डिएक्ससि एरिना, टीआईओ स्टेडियम र काज्लिस् एरिनामा हुनेछन् ।

गत वर्ष यस सिरिजमा पाकिस्तान र बंगलादेशको ए टोलीसँगै बिग बास लिग (बीबीएल) का विभिन्न फ्रेञ्चाइज टोलीसहित कुल ९ टोलीको सहभागिता थियो । गत वर्ष एडलेट स्ट्रायकर्सले बंगलादेशको ए टिमलाई पराजित गर्दै च्याम्पियन बनेको थियो । यस वर्षको सिरिजको खेल तालिका चाँडै सार्वजनिक हुने क्यानले जनाएको छ ।