चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिबाट रिटायर्ड हुने बेला भएकाले पार्टीलाई एक ढिक्का बनाएर लैजाने चाहना व्यक्त गर्नुभएको छ ।
चितवनको नारायणघाटमा कांग्रेस नेतृ तथा प्रजातन्त्र सेनानी गौरी प्रधानको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै सभापति देउवाले अहिलेको संविधानमा कुनै पनि पार्टीले एक्लै बहुमत ल्याउन सक्ने अवस्था नभएकाले पार्टीलाई एक बनाएर लैजाने चाहना भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिलेको संविधान समानुपातिक र समावेशी भएकाले कुनै पनि पार्टीको एक्लै बहुमत आउन गाह्रो छ । हाम्रो पार्टीमा झनै एउटा रोग छ, टिकट नपाउनेले टिकट पाएकालाई हराउन लागि हाल्छ, पार्टी भित्रको यो रोग हटाउनु छ । मेरो रिटायर्ड हुने बेला भएको छ, पार्टीलाइ एक बनाउनु छ ।’
सभापति देउवाले कुनै पनि पार्टीसँग एक्लै बहुमत नभएकाले सबै पार्टीसँग मिलेर सरकार चलाउनु पर्ने बाध्यता सिर्जना भएको बताउनुभयो । निर्वाचनबाट कांग्रेस ठूलो पार्टी भए पनि एक्लो बहुमत नभएकाले कहिले माओवादी त कहिले एमालेसँग मिल्नु परेको उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले कांग्रेस भित्र टिकट पाउनेलाई टिकट नपाउनेले जिताउन लागे कांग्रेसले एक्लै बहुमत ल्याउन सक्ने दाबी गर्नुभयो । उहाँले कांग्रेसमा एक भएर जान सबैमा आग्रह गर्दै कांग्रेसलाई एक्लो बहुमतको पार्टी सबैलाई एकढिक्का भएर अघि बढ्न आग्रह गर्नुभयो ।
श्रद्धाञ्जली सभामा बोल्दै कांग्रेस नेता विमलेन्द्र निधीले आगामि २०८४ को स्थानीय, प्रदेश र संघको निर्वाचनमा चितवनमा रूख चिन्हमा मात्रै भोट हाल्ने अवस्था सिर्जना गर्ने दाबी गर्नुभयो ।
श्रद्धाञ्जली सभामा नेपाली कांग्रेसका कोषाध्यक्ष एवं पूर्व राज्यमन्त्री उमेश श्रेष्ठ, कांग्रेसका पूर्व महामन्त्री डा.शसांक कोइरालालगायतका नेताले गौरी प्रधानप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।