प्रकाशमानको प्रश्नः पटक-पटक परीक्षणमा पास भएकामाथि त प्रश्न छ, नयाँले के गर्न सक्छन् ?

असार १३, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रकाशमानको प्रश्नः पटक-पटक परीक्षणमा पास भएकामाथि त प्रश्न छ, नयाँले के गर्न सक्छन् ?

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नयाँ राजनीतिक दलहरूले केही पनि गर्न नसक्ने बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले विभिन्न चरणका परीक्षणहरूमा पास भएर आएका पुराना राजनीतिक दलहरूलाई जनताले अहिले पनि प्रश्न गरिरहेको भन्दै नयाँ र परीक्षण नै नभएका राजनीतिक दलहरूले केही गर्न नसक्ने बताउनु भयो । 

उहाँले नेपाली कांग्रेस जनताबाट पटक-पटक परीक्षण भएर आएको पार्टी रहेको बताउनु भयो । उनीहरूले भनेको मात्रै कुरा मान्दै जाने हो भने देश कहाँ पुग्छ ? भन्दै प्रश्न गर्नुभयो । 

जनताको अधिकारका लागि लडेका पार्टीलाई नजरअन्दाज गरेर केही नगरेकाहरूबाट केही हुन्छ भनेर आश गरेर पछि लाग्नु तर्कसंगत नहुने उहाँको भनाइ छ । कांग्रेस पार्टीका भ्रातृ संगठन, नेपाली कांग्रेस पार्टीका शुभेच्छुक संघ/संस्थाहरू बलियो भएको खण्डमा मात्रै सन्तोषको शास फेर्न सकिने उहाँले बताउनु भयो ।

उपप्रधानमन्त्री सिंहले सबैको कुरा सुन्नुपर्ने तर जनतालाई हित हुने र जनताले चाहेको कुरा गर्नुपर्ने बताउनु भयो । जनतालाई दीर्घकालीन फाइदा हुने कुरामा अघि बढ्न जरूरी रहेको उहाँकाे भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.