अस्पतालहरूमा बढे सर्पदंशका बिरामी, काठमाडौं र तराईका जिल्लामा बढी जोखिम

वार्षिक सरदर ५० जनाको मृत्यु हुने भनिए पनि सरकारसँगै छैन वास्तविक तथ्यांक
असार १३, २०८२ |कृपाल गौतम
अस्पतालहरूमा बढे सर्पदंशका बिरामी, काठमाडौं र तराईका जिल्लामा बढी जोखिम

काठमाडौं । नेपालमा हरेक वर्ष सर्पको टोकाइबाट सरदर ५० जनाको मृत्यु हुने गरेको छ । गर्मी र वर्षातको समयमा सर्पदंशका घटना बढी हुने गरेका छन् । 

सबै सर्प बिषालु भने हुँदैनन् । नेपालमा बिषालुभन्दा बिष नभएको सर्पको टोकाइ बढी हुने गरेको छ । तर सर्पदंशको उपचार गर्ने ठाउँ भने देशभर जम्मा १ सय ६ वटा मात्र छन् । बिषालु सर्पले टोकेपछि समयमै अस्पताल पुर्‍याउन नसक्दा बिरामीको मृत्यु हुने गरेको हो ।

सरकारी तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० मा ९ हजार १ सय २० र २०८०/८१ मा ६ हजार १ सय ८ जनालाई सर्पले टेकेको थियो । तर बिषालुभन्दा बिष नभएको सर्पले टोकेका घटना बढी छन् । 

आर्थिक वर्ष २०७९/८० मा १२ सय २३ जनालाई विषालु सर्प र ७८ सय ८७ जनालाई बिष नभएका सर्पले टोकेको थियो । यसैगरी २०८०/८१ मा ११ सय ३५ जनालाई विषालु र ४९ सय ७३ जनालाई बिष नभएका सर्पले थियो । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सर्पले टोकेर वार्षिक ५० जना हाराहारीको मृत्यु हुने गरेको तथ्यांक संकलन हुन्छ । तर कतिपयको तथ्यांक नै संकलन नहुने गरेको पनि महाशाखाले जनाएको छ ।

अहिले काठमाडौंको टेकु अस्पतालमा मात्र दैनिक १७ जनासम्म सर्पदंशका बिरामी आउने गरेका छन् । तर सबैभन्दा बढी सर्पदंशका घटना धनुषामा हुने गरेको तथ्यांक छ । त्यसैगरी सुनसरी, झापा, सप्तरी, नवलपरासी पूर्वलगायत जिल्लामा सर्पदंशका बिरामी बढी आउने गरेका छन् ।

पछिल्लो समय विषालु गोबन सर्पको टोकाइ वृद्धि भएको छ। अहिले एन्टि स्नेक भेनमको अभावले गर्दा छिमेकी जिल्लाहरूबाट रिफर भएर आउनेहरू पनि बढेका छन्। मृत्युदर र घटना न्यूनीकरण गर्नलाई कपिलवस्तु लगायत छिमेकी जिल्लाहरूमा पनि हामीले अवेरनेसका कार्यक्रमहरू गर्दै आइरहेका छौँ।

देशभर १ सय ६८ वटा सर्प दंश केन्द्र दर्ता छन् । तर १ सय ६ वटा मात्र सञ्चालनमा छन् । १९ वटा केन्द्र नेपाली सेना, स्थानीय निकाय र जनस्वास्थ्य कार्यालयको सहकार्यमा सञ्चालित हुँदा बाँकी स्वास्थ्य मन्त्रालयअन्तर्गतका हुन् । बिषालु सर्पले टोकेका बिरामीलाई समयमै अस्पताल पुर्‍याउन नसके मृत्युसमेत हुने गरेको छ ।

हरेक वर्ष विश्वभर २० लाख मानिसलाई सर्पले टोक्ने गरेको छ । सतर्कता नअपनाउँदा र टोकी हाले पनि समयमै उपचार नपाउँदा मात्र मानिसको मृत्यु हुने गरेको हो । अहिले वर्षातको समय र गर्मी मौसम भएकाले सर्पको टोकाइबाट बच्न सावधानी अपनाउनुको विकल्प छैन ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।