अन्तर्राष्ट्रिय फोरममा नेपालले स्रोत अभाव र चुनौतीबारे आवाज उठाउने

असार १३, २०८२ |सुमन पन्थ
अन्तर्राष्ट्रिय फोरममा नेपालले स्रोत अभाव र चुनौतीबारे आवाज उठाउने

काठमाडौं । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली शनिबार युरोपेली मुलुक स्पेन जाँदै हुनुहुन्छ । 

नेपाल अर्को वर्ष अल्पविकसितबाट विकासशील मुलुकमा स्तरोन्नति हुँदैछ । सन् २०३० सम्म दिगो विकासको लक्ष्य हासिल गर्नुपर्नेछ । यो अवस्थामा प्रधानमन्त्रीको स्पेन भ्रमण र त्यहाँ हुने छलफललाई लिएर चासो बढेको छ । असार २१ गतेसम्म स्पेनमा रहँदा प्रधानमन्त्री ओलीले के-के विषयमा छलफल गर्नुहुन्छ त ?

अहिले नेपालमा विकासको हुटहुटी छ तर एकातिर पर्याप्त बजेट छैन भने अर्कोतर्फ भ्रष्टचार रोकिन सकेको छैन । यसलाई कसरी सम्बोधन गर्ने भन्ने चुनौती सरकार समक्ष छ ।

नेपाल अर्को वर्ष अल्पविकसित मुलुकबाट विकासशीलमा स्तरोन्नति हुँदैछ । सन् २०३० सम्म संयुक्त राष्ट्र संघले लिएको दिगो विकासका लक्ष्य हासिल गर्नुपर्नेछ । त्यसका लागि नेपालले आर्थिक सूचकहरु बलियो बनाउनुपर्ने छ । 

अहिले स्पेनमा हुन लागेको संयुक्त राष्ट्रसंघको 'विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन'मा प्रधानमन्त्री ओली सहभागी हुन लाग्नुभएको छ । यो सम्मेलनका क्रममा प्रधानमन्त्री ओलीले देशको आर्थिक सुधारका एजेन्डा पूरा गर्न छलफल केन्द्रित गर्नुपर्ने छ । 

स्रोतको अभावमा राष्ट्रिय लक्ष्य पुरा हुन नसकेको र अल्पविकसीतबाट विकासशील राष्ट्रमा रूपान्तरण हुँदै गर्दा आइपरेका समस्या समाधानका लागि पनि अन्तर्राष्ट्रिय समुदायसमक्ष स्पष्ट कुरा राख्न प्रधानमन्त्रीलाई विज्ञको सुझाव छ ।

'विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन' मा विश्वका सबै देशका सरकार प्रमुख वा प्रतिनिधि, विश्व र क्षेत्रीय संस्था, वित्तीय र व्यापारिक संस्था, व्यवसायी, नागरिक समाज र संयुक्त राष्ट्रसंघ प्रणालीका सम्बन्धित प्रतिनिधिहरू सहभागी हुने छन् । 

यस्तो फोरममा ग्लोबल डेभलमेन्ट फाइनाइन्समा योगदान गर्न नेपाल जस्ता अल्पविकसीत देशहरूले आवाज उठाउन सक्ने छन् । यस्तै गरिवी निवारण, रोजगारी र आर्थिक वृद्धिमा विकासशील देशहरूलाई सहयोग गर्नुपर्ने कुरा सामूहिक रूपमा उठाउन सकिन्छ । प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा नेपालले पनि यस्तै विषय उठाउने तयारी गरेको छ ।

कोरोना महामारीपछि देशको आर्थिक अवस्था कमजोर हुँदा दिगो विकासका लक्ष्य प्राप्तिमा चुनौती थपिएको छ । दिगो विकासको लक्ष्य प्राप्ति गर्ने समय पाँच वर्ष मात्र बााकी छ । तर औषत प्रगति ४१ प्रतिशतमा सीमित छ । 

अब अर्को वर्ष विकासशील मुलुकमा स्तरोन्नति भएपछि विकसित देशले दिँदै आएको शून्य भन्सार सुविधा कटौती हुने छ । यसैगरी नेपालले पाउने अनुदान रकम पनि घट्न सक्छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको संयुक्त मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री ओली सम्मेलनमा भाग लिन जान लाग्नुभएको हो ।

सम्मेलनका क्रममा नेपालले जलवायु संकट तथा अल्पविकसित, साना र टापु मुलुकको आवाजसमेतलाई अगुवाइ गर्ने तयारी छ । धनी मुलुकले गरिब र साना मुलुकका लागि गरेको लगानी प्रतिबद्धताको कार्यान्वयनका लागि पनि सम्मेलनमा छलफल हुनेछ । 

हाल अल्पविकसित मुलुकको अन्तर्राष्ट्रिय समन्वयको अध्यक्षता गरिरहेकाले नेपालको छुट्टै भूमिका हुने छ । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले स्पेनका राजा फिलिप द्वितीयसाग शिष्टाचार भेट गर्ने र स्पेनका समकक्षी सान्चेजसाग भेटवार्ता गर्नुहुनेछ । 

यसैगरी विश्वका अन्य मुलुकका नेताहरूसँग साइडलाइन भेटवार्ता गर्ने तयारी छ । नेपालबाट हुन लागेको उच्चस्तरको भ्रमणले विकसित मुलुकबाट हुने लगानीवृद्धिका साथै युरोपली मुलुकका पर्यटक आकर्षणमा योगदान दिने विश्वास गरिएको छ ।


Image

सुमन पन्थ

पन्थ कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।