काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले लुटतन्त्रको रक्षाका लागि सरकार र नेकपा (माओवादी केन्द्र)बीच समझदारी भएको बताउनुभएको छ ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले १८ दिनदेखि संसद्मा नाटक मञ्च्न भइरहेको बताउनु भयो । उहाँले प्रमुख प्रतिपक्ष दलका नेताले वीरतापूर्वक आत्मसमर्पण गर्नुभएको बताउनुभयो । उहाँले बहादुरीकासाथ पछाडि हटेको सुन्न पाइएको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘१८ दिनदेखिको नाटक हामीले देखिरहेका छौँ । देशले देखिरहेको छ । अहिले प्रमुख प्रतिपक्ष दलका नेताले वीरतापूर्वक आत्मसमर्पण गर्नुभएको सुन्न पाइयो, वीरता र बहादुरीकासाथ पछाडि हटेको सुन्न पाइयो । हुने नै यही थियो । उहाँले गणतन्त्रको रक्षाको लागि भन्नुभयो । गणतन्त्रको रक्षाको लागि होइन, लुटतन्त्रको रक्षाका लागि यो समझदारी भएको भन्नेकुरा आम जनताले बुझेका छन् ।’
अध्यक्ष लिङदेनले गृहमन्त्रीले राजीनामा दिएर अनुसन्धानका लागि मार्ग प्रशस्त गर्न आग्रह गर्नुभयो ।