काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रष्टाचारविरूद्धको आफ्नो अभिव्यक्तिलाई व्यवहारमा लागू गर्न नसकेको टिप्पणी गर्नुभएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले प्रधानमन्त्रीको ‘म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ’ भन्ने भनाइ व्यवहारतः लागू हुन नसकेको टिप्पणी गर्नुभएको हो ।
उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगप्रति पनि प्रश्न उठाउँदै आयोगले एउटै मुद्दामा केहीलाई कारबाही गर्ने र केहीलाई उन्मुक्ति दिने प्रवृत्तिले दण्डहीनतालाई प्रोत्साहन दिएको टिप्पणी गर्नुभयो । भ्रष्टाचारविरोधी भाषा बोलेर मात्र नहुने भन्दै कोइरालाले निर्मम तरिकाले भ्रष्टाचार अन्त्य गर्न लाग्नुपर्ने उहाँले बताउनु भयो ।
मुलुकको आर्थिक, प्रशासनिक र अन्तर्राष्ट्रिय साख संकटमा पर्दै गएको उहाँको भनाइ छ । उहाँले श्रमिकको पारिश्रमिक वृद्धिमा सरकार लगातार असफल भएको आरोप लगाउनु भयो ।
नेपाल आतंकवादमा वित्तीय संलग्नताको आशंकामा रहेको भन्दै युरोपेली संघले नेपाललाई ग्रे लिस्टमा राखिसकेको तथ्यप्रति गम्भीर चिन्ता समेत व्यक्त गर्नुभयो ।