काठमाडौं । भिजिट भिसा प्रकरणमा छानबिन गर्नका सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमाले लचक भएका छन् ।
विपक्षीहरूले यो प्रकरणमा छानबिन र गृहमन्त्रीको राजीनामा माग गर्दै संसद् बैठक निरन्तर अवरोध गरिरहेको समयमा छानबिनका लागि सत्तारूढ दलहरू केही लचक बनेका हुन् ।
आज दिनभर सत्तापक्ष र विपक्षीहरूका बीचमा भएको छलफलपछि लिखित सहमति बनाएर अगाडि बढाउने विषयमा सहमति बन्दै गएको प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालले जानकारी दिनुभयो ।
दाहालले छानबिन अध्ययनका भन्नेमा सत्तारूढ दल तयार भएको र विपक्षीहरूका वीचमा केहि छलफल आवश्यक देखिएकाले भोलीको बैठक खुल्ने समेत दाबी गर्नुभयो ।
छानबिन समिति गठनको प्रतिबद्धता अगाडि बढ्ने वा समयसिमा तोकिने भन्नेमा विपक्षी दलहरू एकठाँउमा आइसकेका छैनन् । विपक्षीहरूसँग सहमतिका छलफल गरिरहेका सत्तारूढ दलले पनि सहमति नजिक पुगेको प्रतिक्रिया दिएका छन् ।
सत्ता र विपक्षीका बीचमा लिखित सहमति नै गरेर अगाडि बढ्ने भन्ने भएपछि लिखित सहमितका लागि दलहरू छलफल मै छन् । दलहरूका बीचमा सहमति नजुटेपछि दिउँसो ३ बजेका लागि बोलाइएको बैठक साँझ साढे पाँच बजेका लागि सारिएको थियो । साढे ६ बजेपछि सुरू त भएको बैठक विपक्षीले अवरोध गरेपछि कार्यसूचीमै प्रवेश गर्न सकेन ।
प्रतिनिधि सभा अर्को बैठक भोलि दिउँसो १ बजे बस्नेगरी बोलाइएको छ । जेठ १३ गतेदेखि नै सदन अवरूद्ध हुँदा नियमित कामकारवाही सुरू हुन सकेको छैन । जेठ १५ गते बजेट ल्याउन दिएपनि त्यसयता कहिले सूचना टाँसेर र कहिले विरोधका कारण कार्यसूचीमा प्रवेश गर्नै नपाई प्रतिनिधि सभा स्थगित हुँदै आएको छ ।