
रोल्पा । बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनपछि रोल्पामा मतपेटिका मतगणना स्थलमा ल्याउने क्रम सुरू भएको छ।
एउटामात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको रोल्पामा विभिन्न मतदान केन्द्रबाट मतपेटिका ढुवानी गरी मतगणना स्थलमा ल्याउने क्रम जारी रहेको मुख्य निर्वाचन अधिकृत विनोद खतिवडाले जानकारी दिनुभयो।
टाढाका मतदान केन्द्रबाट मतपेटिका ल्याउन करिब ६ घन्टाभन्दा बढी समय लाग्ने उहाँले बताउनुभयो। सबै मतपेटिका लिवाङमा आइपुगेपछि मतगणना सुरू गर्ने व्यवस्था मिलाइएको पनि खतिवडाले जानकारी दिनुभयो। मतगणना स्थल लिवाङस्थित घरेलु तथा साना उद्योग कार्यालयमा व्यवस्थापन गरिएको छ।
सबै मतपेटिका राति करिब २ बजेसम्म आइपुग्ने अपेक्षा गरिएको खतिवडाले बताउनुभयो। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार रोल्पामा कुल ४६.३९ प्रतिशत मतदान भएको छ। जिल्लामा ८६ मतदान स्थल र दुई अस्थायीसहित १८२ मतदान केन्द्र रहेका छन्।
कुल १ लाख ४९ हजार ५९७ मतदाता रहेको रोल्पामा ६९ हजार ४०८ मत खसेको छ।