सिरहामा मतदान केन्द्रबाट मतपेटिका ढुवानी हुँदै

फाल्गुन २१, २०८२ |विनय आजाद
सिरहामा मतदान केन्द्रबाट मतपेटिका ढुवानी हुँदै

सिरहा । सिरहामा मतदान सम्पन्न भएसँगै सबै मतदान केन्द्रबाट मतपेटिका ढुवानी भइरहेको छ । 

जिल्लाका चारै निर्वाचन क्षेत्रबाट मतपेटिका ढुवानी गरी मतगणना स्थलमा ल्याउने कार्य धमाधम भइरहेको हो । सबै मतपेटिका बढीमा साढे सात बजेसम्म संकलन भइसक्ने सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयाे ।

सिरहा-१ का लागि लहान नगरपालिकाको सभाहलमा, सिरहा-२ का लागि धनगढीमाई नगरपालिकाको कार्यालयमा, सिरहा-३ का लागि सिरहा नगरपालिकाको कार्यालयमा र सिरहा-४ का लागि मिर्चैयास्थित रेडक्रसको भवनमा मतगणना स्थल बनाइएको छ ।

सिरहामा कुल चार लाख ५३ हजार ६४५ मतदाता रहेकोमा ६५ प्रतिशत हाराहारी मतदान भएको प्रारम्भिक अनुमान छ ।


Image

विनय आजाद

आजाद कान्तिपुर टेलिभिजन सिरहाका संवाददाता हुन् ।