काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्र, राष्ट्रियता र जनताका मुद्दा बोकेर नेकपा एमाले अघि बढेको बताउनुभएको छ ।
मन्त्रीपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरुको प्रश्नमा मन्त्री गुरुङले आफूहरु झोल खाने नभइ जनताका मुद्दा बोकेर हिँड्ने पार्टीका झोले भएको बताउनु भयो । उहाँले आफूले नेकपा एमालेले उठाएका जनताका माग तथा मुद्दाको झोला बोकेर अहिलेसम्मको स्थितिमा आएको बताउँदै पार्टीको नीति सिद्धान्त, झण्डा बोकेकाले एमाले पार्टीको झोले हुनमा गौरववोध गर्नुपर्ने बताउनु भयो । एमालेको झोलामा राष्ट्रवादको सिद्धान्त रहेको उहाँको भनाइ छ । सुशासन नभइकन सामाजिक र आर्थिक रुपान्तरण हुन नसक्ने र त्यसको झोला एमालेले बोकिरहेको बताउनु भयो ।
मन्त्री गुरुङले एमालेको झोला बोक्ने कुरामा सबैले गर्व महसुस गर्नुपर्ने बताउनु भयो । आफू राष्ट्रियताको झण्डा बोक्ने व्यक्ति भएकाले एमालेको झोले भएको जिकिर उहाँले गर्नुभयो ।